शिक्षण अस्पताल कोहलपुरमा सुत्केरी सेवा बन्द



कोहलपुर ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आमा सुरक्षा कार्यक्रमअन्तगर्त ‐सुत्केरी सेवा)आजदेखि बन्द भएको जनाएको छ । विगत २० वर्षदेखि सञ्चालन हुँदै आएको आमा सुरक्षा कार्यक्रम ‐सुत्केरी सेवा)को सम्झौता अवधि सकिएकाले बन्द गरिएको अस्पतालले जनाएको हो ।

नेपाल सरकारद्वारा लागु गरिएको आमा सुरक्षा ‐सुत्केरी सेवा) प्रदान गर्दै आएको र सेवाग्राहीले लाभ पनि लिँदै आएको नेपालगन्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरका निर्देशक प्राडा रेशमबहादुर रानाले जानकारी दिए । बुधबार एक सूचना जारी गर्दै कोहलपुर नगरपालिकासँग भएको सम्झौता सकिएकाले पुनः सम्झौता नहँुदासम्मका लागि सेवा बन्द गरिएको उनले बताए ।

आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारको समन्वयमा कोहलपुर नगरपालिकासँग सम्झौता गरी चालू आव २०८२–२०८३ मा सेवा निरन्तरताका लागि अनुरोध गरेपनि सम्झौता नगरेकाले सेवा बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ । आजका दिनबाट ‐सुत्केरी सेवा) दिन नसकिने पनि बताइएको छ ।

सेवा बन्द हुँदा बिरामीहरुलाई पर्न गएको असुविधा प्रति दुःख व्यक्तसमेत अस्पतालद्वारा गरिएको छ । अर्काे व्यवस्था नभएसम्मका लागि आमा सुरक्षाअन्तर्गत सेवा प्राप्त गर्ने सेवाग्राहीहरुले आवश्यक कागजात पेश गरे अस्पतालको दर रेटमा विशेष छुट दिएर सेवा प्रदान गरिने जनाएको छ । सम्झौता हुनासाथ पूर्ववत सहुलियत प्राप्त गर्न सकिने बताइएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार