यू–१७ महिला टोलीको प्रशिक्षकमा श्रेष्ठ नियुक्त



बाँके ।

आगामी अगस्ट २० देखि भुटानमा सुरु हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२५ का लागि नेपाली टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी चेतनारायण श्रेष्ठलाई दिइएको छ । बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले श्रेष्ठलाई औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

श्रेष्ठ यसअघि विभिन्न उमेर समूहका महिला टिमको प्रशिक्षणमा संलग्न रहिसकेका अनुभवी प्रशिक्षक हुन् । बुधबार च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको थियो । प्रतियोगिता अगस्ट २० देखि ३१ सम्म भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुनेछ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली सहभागी छन् ।

प्रतियोगिता डबल राउण्ड रोबिन लिग प्रणालीमा हुनेछ, जसअनुसार सबै टोलीले एक–अर्काविरुद्ध दुईपटक खेल्नेछन् । लिग चरणको अन्त्यमा सबैभन्दा बढी अंक बटुल्ने टोली च्याम्पियन घोषित हुनेछ । नेपालले प्रतियोगिताको उद्घाटन दिन अर्थात् अगस्ट २० मा भारतविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रबार