फिफा वरियतामा नेपाल एक स्थान खस्कियो



काठमाडौँ ।

फिफा वरियतामा नेपाल पुरुष फुटबल टिम एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल एक स्थान तल झरेर १७६औँ स्थानमा पुगेको हो । नेपालले गत जुनमा हङकङसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो । त्यस्तै जुनमै एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँगको खेलमा २–१ ले पराजित भएको थियो ।

दक्षिण एसियामा भारतको वरियता पनि खस्किएको छ । भारत ६ स्थान तल झर्दै १३३औँ स्थानमा पुगेको छ भने माल्दिभ्स ७ स्थान तल झरेर १७१औँ स्थानमा पुगेको छ । नेपालभन्दा पछि रहेको बंगलादेश १ स्थान तल झर्दै १८४औँ स्थानमा पुगेको छ भने भुटान ४ स्थान तल झरेर १८६औँ स्थानमा पुगेको छ । श्रीलंका ४ स्थान सुधार गरेर १९६औँ स्थानमा पुगेको छ भने पाकिस्तान ३ स्थान खस्किएर २०१औँ स्थानमा पुगेको छ ।

विश्व च्याम्पियन अर्जेन्टिना फिफा वरियताको शीर्ष स्थानमै यथावत छ । यस्तै स्पेन दोस्रोमा, फ्रान्स तेस्रोमा, इंग्ल्याण्ड चौथो र ब्राजिल पाँचौँ स्थानमा यथावत छन् । पोर्चुगल एक स्थान सुधार गर्दै छैटौँ स्थानमा उक्लँदा नेदरल्याण्ड्स सातौँ स्थानमा झरेको छ । बेल्जियम आठौँ, जर्मनी नवौँ र क्रोएसिया १०औँ स्थानमा छ । एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा अघि रहेको जापान २ स्थान खस्किएर १७औँ स्थानमा छ । इरान पनि २ स्थान खस्किएर २०औँ स्थानमा छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रबार