संघीयताले देश कंगाल भयोः केसी



श्यामलाल पोखरेल । बुटवल ।

नेपालको हकममा संघीयता चाहिदैँन भन्दै आएको राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्व काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेको छ । राष्ट्रिय जनमोर्चाले यही फागुन २४ गतेदेखि ३० गतेसम्म काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेको हो ।
काठमाडौँ केन्द्रित आन्दोलनको आइतबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौँको शान्ति वाटिकामा उद्घाटन गर्दै संघीयता असफल भैसकेको प्रमाणित भएको बताए । संघीयताले देश कंगाल भैसकेको बताउँदै विदेशी साम्राज्यवादी शक्तिले बोकाएको संघीयता समसयमा नै खारेज नगरिए संघीयताले देश खारेज हुन सक्ने बताए ।

एउटा संसद धान्न नसकेको देशले आठ ठाउँको संसद आर्थिक रूपले धान्न नसक्ने बताउँदै विदेशीबाट ऋण ल्याएर संघीयता धान्न नसकिने बताए । अध्यक्ष केसीले संविधानमा संघीयता विदेशीले लेखाई दिएको उल्लेख गर्दै सत्तामा रहेकाहरूले सत्ता टिकाई राख्न साम्राज्यवादी शक्तिको गोडा मोलेको बताउंदै सत्ताका लागि देशलाई दाउमा राख्नेहरूलाई खबरदारी गर्नुपर्ने बताए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले सत्तामा बसेकाहरूबाटै लोकतन्त्र, गणतन्त्र खतरामा रहेको दाबी गर्दै उनीहरूलाई लोकतन्त्र, गणतन्त्र भन्दा सत्ताको भोक बढी रहेको बताए । अध्यक्ष केसीले भने, ‘देशमा राजतन्त्र आउँनै नसक्ने बताउँदै जनताले फालेको राजतन्त्र आउँछ र ल्याउँछौ भन्नु मुर्खता हो ।’ सत्तामा बसेकाहरूले काम गर्न नसकेका कारण सयौँ राजा पाल्न भन्दा एउटो राजा पाल्न ठिक भन्नेहरू कमजोर सोच भएका हुन् । उनीहरूबाट सचेत हुर्नुे अध्यक्ष केसीको भनाइ छ ।

नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले साम्राज्यवादीलाई खुशी पारेर सत्तामा बसिरहनका लागि कांगे्रस, एमाले, माओवादीलगायतका दलहरूले संघीयता स्वीकारेको बताए । संघीयताका कारण गणतन्त्र धरापमा परेको बताउँदै संघीयता खारेज नगरेसम्म देशले निकास नपाउने र देश आर्थिक रूपले झनै टाट पल्टिने बताए । कांगे्रस, एमाले र माओवादीले देशबाट कार्यकर्ता पालेर पार्टी जोगाएको बताउँदै प्रदेश संरचना सबैका लागि घाँडो भैसकेको बताए ।

नेता पुरीका अनुसार प्रदेशको खर्चले शिक्षा, स्वास्थ्य निःशुल्क गर्न सकिने र किसानहरूलाई राहत दिन सकिने भएकाले संघीयता खारेज गर्नुको अर्को कुनै विकल्प छैन ।

उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका सल्लाहकार आनन्द शर्मा, अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारी, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सवास जीसी, अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोका, रक्ति साँस्कृतिक अभियानका अध्यक्ष गिरी बुढा, अखिल नेपाल बुद्विजीवि संघका अध्यक्ष प्रा.डा श्रीधर गौतम, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका उपाध्यक्ष पे्रम पौडेल, अन्टुकका अध्यक्ष लोकराज भुसाल, राष्ट्रिय सभा सदस्य राजेश विश्वकर्मा लगायतले बोल्दै संघीयताविरुद्वको आन्दोलनप्रति एक्येवद्वता जनाउँदै संघीयता खारेज नहुँदासम्म आन्दोलन जारी राख्नु पर्नेमा जोड दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २५ गते सोमबार