अब साँझमा लोडसेडिङ हुँदैछ : ऊर्जामन्त्री खड्का



काठमाडौँ ।

सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले साँझको समय लोडसेडिङ हुने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने दाबी गरेका हुन् । हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने बताएका हुन् ।

‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्युत नीजि क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत् आपूर्ति हुन सकेको छैन । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,’ उनले भने, ‘हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यहीँ छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’

नेपालको लोडसेडिङ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भन्दा पनि भारत र नीजि क्षेत्रको भूमिका रहेको मन्त्री खड्काको भनाइ थियो । उनले नेपालमा लोडसेडिङ अन्त्यका लागि भारतलाई धन्यवाद दिनुपर्ने दोहो¥याएका हुन् । यसअघि प्रतिनिधि सभामा पनि भारतलाई लोडसेडिङ अन्त्य गरिदिएकोमा धन्यवाद दिनुपर्ने अभिव्यक्ति दिएका थिए । ‘नीजि क्षेत्र र भारतबाट आयात गरेको विद्युत्ले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ ।

त्यसकारण उज्यालोको नायक भनेको उहाँ (कुलमान घिसिङ) होइन है, बरु यो धन्यवाद भारतलाई दिऔं, नीजि क्षेत्रलाई दिऔं । जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ त्यता धन्यवाद दिउँ न भनेर निवेदन गर्न चाहेको हो,’ उनले भने ।
मन्त्री खड्काले प्राधिकरण नाफा गएको भनिए पनि महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रूपैयाँभन्दा बढी घाटा देखाएको बताए । प्राधिकरण नाफामा रहेको भनी गरिएको दाबीमा कुनै सत्यता नभएको उनको तर्क थियो ।

लोडसेडिङ हुँदैनः कुलमान

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने बताएका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा उपस्थित हुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालमा अब लोडसेडिङ रोक्न नसकिने बताएका थिए ।

तर घिसिङले भने राति पूरै पावरप्लान्टहरू चल्ने र दिउँसो आयात भइरहेकाले लोडसेडिङ नहुने स्पष्ट पारेका छन् । ‘लोडसेडिङ भएको छैन्, हुँदा पनि हुँदैन् । हाम्रा सबै पावरप्लान्टहरू राति चल्छन्’, उनले नेपालखबरसँग भनेका छन्, ‘भारतबाट दिउँसो बिजुली आयात गर्न दिएकै छ, दिउँसो आउँछ । त्यसकारण लोडसेडिङ हुँदैन् ।’

उनका अनुसार एक हजार मेगावाट बढीका आयोजना राति पूर्ण क्षमतामा चल्ने भएकाले पनि लोडसेडिङ हुने अवस्था छैन् । ‘कुलेखानी, माथिल्लो तामाकोशी, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी, चिलिमे, साञ्जेनजस्ता धेरै आयोजनाहरू राति चल्छन्’, उनले थपे, ‘करिब करिब १००० मेगावाटका आयोजना पिकआवरमै फुल क्यापासिटीमा चल्छ । १००० प्लस रनअफ रिभर गरी १६-१७ सय मेगावाट आयोजना चल्छ ।’

यस्तो अवस्था रहेकाले लोडसेडिङ हुने हल्लामा नदौडिन उनको आग्रह छ । कार्यकारी निर्देशक घिसिङका अनुसार नेपालमा पिक टाइममा करिब १८-१९ सय मेगावाट बिजुलीको माग हुन्छ । तर त्यसलाई प्राधिकरणले आवश्यक व्यवस्थापन मिलाएको उनको भनाइ छ । उनले भने, ‘केही उद्योगलाई हामी पिक टाइममा चलाउन दिँदैनौँ । त्यति हुँदा हामीलाई बिजुली मज्जाले पुग्छ ।’

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ७ गते बिहीबार