नेत्र सुवेदी:आउँदा दिनहरूमा सन्दर्भ फेरिएला तर वर्तमानमा भने पाठेघरको मुखको क्यान्सर अर्थात सर्भिकल क्यान्सर नेपालमा जनस्वास्थ्य समस्याको रूपमा पहिचान भएको छ । नेपाली महिलालाई हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको र क्यान्सर भएर मृत्यु हुनेको संख्यालाई केलाउँदा भने सर्वाधिक बढी मृत्यु हुने यो खालको क्यान्सर रहेको छ । यो रोग ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को सङ्क्रमणका कारणले हुन्छ । यो भाइरस मानव शरीरमा २० वर्षको अवधिसम्म रह्यो भने क्यान्सर हुने बताइएको छ ।
सन् २०२२ मात्र एक वर्षमा नेपालमा २१६९ जनालाई एचपीभी सङ्क्रमण भएको र तीमध्ये १ हजार ३ सय १३ जनाको क्यान्सरको कारण मृत्यु भएको अभिलेखले देखाएको छ । यही प्रवृत्ति कायम रहँदा पनि दैनिक ६ जना महिलालाई पाठेघरको क्यान्सर हुने र चार महिलाको ज्यान जाने देखिन्छ, जुन काम भयावह अवस्था हैन । यस सन्दर्भमा अमूल्य मानव जीवनलाई जोगाइराख्नका लागि खोपको खोजी हुनु, सफल परीक्षण हुनु र आमरूपमा प्रयोगमा ल्याइनुलाई असल संयोग मान्नुपर्दछ ।
एचपीभी खोप कस्तो खोप हो ?
एचपीभी खोप भनेको पाठेघरको मुखको क्यान्सर गराउने सङ्क्रमणविरुद्ध दिइने खोप हो । भाइरस विभिन्न माध्यमबाट सर्ने भए तापनि रोगको हिसाबले क्यान्सर नसर्ने रोग हो । महिलाको ज्यानै जाने खतरनाक खालको क्यान्सरका रूपमा पाठेघरको मुखको क्यान्सरलाई मानिएको छ । साविकमा सर्ने रोगमा मात्र खोप केन्द्रित भएकोमा हाल आएर प्रमुख स्वास्थ्य जोखिमका रूपमा देखापरेको पाठेघरको मुखको क्यान्सरको कारक भाइरसविरुद्ध खोपबाट रोकथाम गर्न खोजिएको हो ।
अस्ट्रेलियन टेक्निकल एड्भाइजरी गु्रप अन इम्युनाइजेसनले सन् २०१३ मा एक डोज भएको एचपीभी खोप सिफारिस गरेपछि एकल डोज खोप प्रयोगमा आएको छ । अरू खोपजस्तै यो खोपले पनि सङ्क्रमणसँग प्रतिरक्षा प्रणालीद्वारा लड्न सहयोग गर्दछ । कथम् कदाचित पूरै रोक्न नसके पनि रोगको गम्भीरतालाई घटाउँछ ।
विश्व स्वास्थ्य संगठनले सन् २००६ मा प्रमाणित गरी प्रयोगमा आउन सुरु भएको एचपीभी खोप हाल १ सय ४५ भन्दा बढी देशमा प्रयोगमा आएको छ । विगतमा नेपालमा समेत परीक्षण गरी सफल भएको आधारमा दिन थालिएको यो खोप सुरक्षित छ, प्रयोगकर्तालाई निःशुल्करूपमा उपलब्ध हुन्छ र जीवनरक्षा गर्दछ ।
यो वर्ष पहिलो वर्ष पनि भएको र १० देखि १४ वर्षसम्मका किशोरीलाई समेट्ने भएको हुँदा नेपालभर १६ लाख ८८ हजार ७ सय ६८ जनाले खोप लगाउने अनुमान छ । नेपालमा यो खोपलाई भित्र्याउनका लागि आर्थिक सहयोग गर्ने गाभीलगायतका संस्थाको सहयोगलाई सराहना गरिनुपर्दछ किनकि नेपाली महिलाले भोग्दै आएको समस्याका लागि ढिलै भए पनि रोकथामको यो बाटो सम्भव भयो ।
खोप अभियानको व्यवस्थापन
वास्तवमा एचपीभी खोप अभियानमा संघ, प्रदेश र स्थानीय तह तीनवटै तहका सरकारको सक्रिय सहभागिता रहने देखिन्छ । केन्द्रमा राष्ट्रिय खोप सल्लाहकार समिति रहेजस्तै प्रत्येक जिल्लामा जिल्ला समन्वय समितिका अध्यक्षको संयोजकत्वमा जिल्ला खोप समन्वय समिति रहने व्यवस्था छ, जसले खोप अभियानलाई सफल बनाउनका लागि समन्वय र सहजीकरण गर्ने गर्दछ ।
नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरूप पहिलोपटक २०८१ माघ २२ देखि फागुन ६ सम्म राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यो खोप लगाउने कार्य अभियानकै रूपमा देशभर सञ्चालन भइरेको छ ।
यो वर्ष खोप दिइने १० देखि १४ वर्ष उमेरका बालिका तथा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा रहने हुँदा मूलतः खोप अभियान विद्यालय केन्द्रित हुने अनुमान लगाउन सकिन्छ । नेपालमा यो वर्ष सिकोलिन नाम गरेको खोप दिँइदै छ ।
यो खोप बायाँ पाखुराको मासुभित्र दिइन्छ । मुख्य गरी दुई अवस्थामा यो खोप नलगाउन भनिएको छ । पहिलो भनेको गर्भवती भएमा वा हुने सम्भावना छ भने र दोस्रो पहिलो खोप लगाएपछि एनाफाइलेक्सिस नामक एलर्जी देखापरेको छ भने त्यस्तो व्यक्तिलाई पुनः खोप दिनुहुँदैन ।
जिल्लामा रहेका स्थानीय तहको संख्या, भौगोलिक वितरणको अवस्था तथा सूचीकृत भएका बालिकाको संख्याअनुसार अभियान सञ्चालन हुने अवधि कम वा बढी हुन सक्छ । जस्तो कि बागलुङ जिल्लामा एचपीभी खोप यही माघ २२ देखि फागुन ३ सम्म सम्पन्न गर्ने गरी कार्यतालिका तय भएको छ । माघ २२ देखि २८ सम्म बागलुङ नगरपालिका, जैमिनी, वरेङ, गलकोट र ताराखोलामा लगाइँदै छ भने बाँकी स्थानीय तह ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, बडीगाड गाउँपालिका र तमानखोला गाउँपालिकामा भने माघ २९ देखि फागुन ३ सम्म सञ्चालन हुने गरी तय भएको छ । खोप अभियान नेपालका सबै जिल्लामा २०८१ माघ २२ विश्व क्यान्सर दिवसको दिनबाट सुरु भइसकेको छ भने खोप लगाउन बालिकाको उत्साहजनक उपस्थिति रहँदै आएको मिडियाहरूले जनाएका छन् ।
रोकथामका लागि खोप अभियान
पाठेघरको मुखको क्यान्सर रोगको निवारणका लागि विश्व स्वास्थ्य संगठनले तीनवटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण भएको अवस्था छ । पहिलो भनेको रोग लाग्ने अवस्था नै आउन नदिन प्रारम्भिक किशोरावस्था अर्थात १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखको क्यान्सर सिर्जना गर्ने एचपीभीविरुद्धको खोप दिनु हो भने दोस्रो भनेको ३० वर्षभन्दा माथिको उमेरका महिलालाई पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ) गर्नु हो जसमा उच्च गुणस्तरीय विधिबाट पाठेघरको मुखको परीक्षण गरी क्यान्सर भए÷नभएको पत्ता लगाउनु हो अर्थात निदान गर्नु हो भने तेस्रो भनेको यसरी पाठेघरको मुखको क्यान्सर निदान भएका व्यक्तिको उपचार गर्नु हो ।
उल्लिखित तीन सेवामध्ये दोस्रो र तेस्रो सेवा नेपालमा विगतदेखि नै उपलब्ध हुँदै आएको थियो भने यो वर्षदेखि पहिलो अर्थात खोप अभियानमा एचपीभीविरुद्धको खोपलाई समावेश गरी अभियान सञ्चालन प्रारम्भ भइसकेको छ । प्रत्येक सेवामा उपलब्धि न्यूनतम् ९० प्रतिशत कायम गर्ने लक्ष्य राखिएको पनि छ । खोप अभियानमा एचपीभीविरुद्धको खोप समावेश गर्ने विषय चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समेटिएको थियो ।
एचपीभी खोप यो वर्ष १० वर्षदेखि १४ वर्षसम्मका किशोरकिशोरी विद्यालयमा भए विद्यालयमै गएर र विद्यालयबाहिर भए पायक पर्ने खोप केन्द्रमार्फत यो खोप दिइँदै छ । यो वर्ष सबै किशोरीलाई लक्षित गरी खोप दिने र आगामी वर्षदेखि भने १० पूरा गरेका किशोरीलाई मात्र लक्षित गर्ने गरी खोप कार्यक्रम निर्धारण भएको छ । एकपटक लगाए हुने र एउटा खोपमा ०.५ मिलिबराबरको एक भायल मात्राका रूपमा हुने बताइएको छ ।
खोप अभियानलाई प्रभावकारी कसरी बनाउने ?
देशकै समस्याका रूपमा बढिरहेको रोगको सिर्जना गर्ने भाइरसकाविरुद्ध दिने भएको हुँदा यो खोप अभियान जनताप्रति सरकारको संवेदनशीलता र जवाफदेहिताको एउटा उदाहरण पनि हो । अवस्य पनि यो सबैको सहयोगमा सम्पन्न गर्ने अभियान हो । खासगरी जोखिम समूहमा पर्ने सबै किशोरीका लागि यो अवसर पनि हो । सबैलाई खोपको दायरामा ल्याउनका लागि यो खोप सम्बन्धमा रहेका र रहन सक्ने भ्रम निवारण गर्न सक्नुपर्दछ ।
स्वास्थ्यकर्मी, शिक्षक–शिक्षिका, सञ्चारकर्मीले यसका विभिन्न पक्षमा समाज परिवार र व्यक्तिको तहसम्म जानकारी उपलब्ध गराउन अगुवाइ गर्नुपर्ने हुन्छ । विभिन्न खाले मिडियाबाट प्रतिष्ठित चिकित्सकले एचपीभी खोप सम्बन्धमा सत्य–तथ्य जानकारी गराउनु उपयुक्त हुन्छ । जिम्मेवारीमा रहेका व्यक्ति नै खोप केन्द्रमा पुग्नु र कोही छुटे÷नछटेको सम्बन्धमा फिल्डमा खटिएका व्यक्तिबाट विवरण माग गर्नु पनि यसप्रतिको चासोको प्रमाण हुनसक्छ ।
पहिलो पटक सञ्चालन हुन लागेको एचपीभी खोप अभियानलाई व्यवस्थित र संस्थागत रूप दिनका लागि एचपीभी खोप सेवा सञ्चालन निर्देशिका २०८१ समेत प्रयोगमा ल्याइएको छ ।
त्यसैगरी खोप अभियान सम्बन्धमा केही जिज्ञासा भए सोध्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निःशुल्क हेल्पलाइन ‘हेल्लो स्वास्थ्य’को सम्पर्क नम्बर १११५ मा फोन गर्न वा नजिकको स्वास्थ्य संस्थामा समेत सम्पर्क राख्न सकिने देखिन्छ । सुरुमा नामावली संकलनदेखि खोप लगाइसकेपछिको अवस्थामा अनपेक्षित घटना भइहाल्यो भने सम्बोधनका लागि बालिका स्वयम्, अभिभावक र खासगरी स्वास्थ्यकर्मी निकै चनाखो हुनु जरुरी हुन्छ ।
एचपीभी खोप महिलासँग सरोकार राख्ने भएकाले यो खोप अभियानका बखत महिला स्वास्थ्यका अन्य आयामलाई समेत आबद्ध गर्ने सम्भावना रहन्छ ।
जस्तो कि किशोरावस्थाका बालिकामा महिनाबारी सम्बन्धमा अन्योल हुनसक्ने, कौतुहलताका साथै यौनलाई हामीकहाँ आवश्यकभन्दा पनि बढी लज्जाको विषय पनि बनाइएको सन्दर्भमा एचपीभी खोप अभियानकै क्रममा पनि महिनावारी स्वास्थ्य र सरसफाइका लागि सचेतना समेत सम्भव हुन्छ ।
महत्वपूर्ण कुरा त महिनाबारी भएको अवधिमा समेत यो खोप लगाउन सकिने भनिएको छ । त्यस्तै प्रजनन अंगको सरसफाइ, स्यानिटरी प्याड तथा सुतिको कपडाको के कसरी प्रयोग गर्ने भन्ने विधि, महिनावारी भएको अवधिमा सम्भव हुने शारीरिक अभ्यासको जानकारी, प्रयोग गरिसकेका प्याड तथा कपडाको उचित विसर्जनको तरिका सम्बन्धमा व्यक्तिलाई विभिन्न प्रचार सामग्रीमार्फत र खोप लिइसकेपछिको उपलब्ध समयमा सामूहिकरूपमा जानकारी गराउँदा पनि प्रभावकारी हुने देखिन्छ ।
निष्कर्ष
एचपीभी खोप लैंगिकरूपमा संवदेनशील र पहिलो प्राथमिकतायुक्त कार्यक्रम मात्र होइन कि हामी सबैको साझा अभियान पनि हो । नेपालमा पहिलोपटक २०८१ माघ २२ देखि फागुनको पहिलो हप्तासम्म यो खोप अभियानकै रूपमा सञ्चालनमा रहेको छ । पाठेघरको क्यान्सर गराउने भाइरसको दुई प्रजाति जसले उक्त क्यान्सर गराउन ९८ प्रतिशत भूमिका खेल्दछ ।
ती प्रजातिलाई लक्षित गरेर सिकोलिन नामक भ्याक्सिन प्रारम्भिक किशोरावस्थाका बालिकालाई दिइँदै छ । रोग लागेपछि निदान र उपचारका लागि भौँतारिनुभन्दा पनि रोग नै लाग्न नदिन यो उपाय प्रभावकारी रहने नै छ । खोपका सम्बन्धमा केही अन्योल वा भ्रम छ भने त्यसलाई चिर्दै खोप कार्यक्रमका अलावा दु्रत अनुगमनलाई समेत प्रभावकारी बनाउनु आवश्यक छ । सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्या नरहने हदसम्ममा निवारण गर्ने विश्वव्यापी लक्ष्य हासिल गर्न हामी सबैले आ–आफ्नो क्षेत्रबाट ऐक्यबद्धता जनाऔँ । एचपीभी खोप अभियान सफल पारौँ । –रासस
प्रतिक्रिया दिनुहोस्