साइनिङ स्टारको २३औँ वाषिर्कोत्सव तथा फुड फेस्टिबल



कोहलपुर (बाँके) : कोहलपुर–९ पिपरीस्थित साइनिङ स्टार इंलिस मेडियम स्कुलको २३आँै वार्षिकोत्सव तथा फुड फेस्टिबल कार्यक्रम–२०८१ सम्पन्न भएको छ । शुक्रबार एक औपचारिक समारोहकाबीच स्कुलको २३औँ वार्षिकोत्सव तथा फुड फेस्टिबल कार्यक्रम–२०८१ सम्पन्न भएको हो । फेस्टिबलको भव्य समारोहकाबीच कोहलपुर नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख रामबहादुर हमालले उद्घाटन गरेका थिए ।

उक्त अवसरमा बोल्दै शिक्षा शाखा प्रमुख हमालले कोहलपुरमा रहेका मध्ये साइनिङ स्टार उत्कृष्ट रहेको बताए । उनका अनुसार गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता हो । उनले भने,‘शिक्षा क्षेत्र सुधार गर्नुपर्ने पक्ष छन् । ती सुधारका कार्य हामीले सुरु गरेका छौँ । कोहलपुरमा ती कामको प्रतिफल निस्कदैछ । हामीले सबैसँग समन्वय गरेर अघि बढेका छौँ’

शाखा प्रमुख हमालले विद्यार्थीको शैक्षिक सफलताको पछि शिक्षक मात्रै नभएर अभिभावकको भूमिका महत्वपूर्ण हुने बताए । अभिभावकहरुले आफ्ना बालबच्चाहरुको शैक्षिक उन्नतिका लागि शिक्षकको मात्रै भर नपर्न उनले अनुरोध गरेका थिए ।
उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष ओपेन्द्रनाथ योगीले मानिसका लागि शिक्षा अपरिहार्य रहेको बताए । उनका अनुसार स्थानीय सरकारको पहिलो प्राथमिकतामा शिक्षा छ ।

सोही अनुसार स्थानीय सरकारले नीतिगत रुपमा शिक्षा सुधारको प्रयास गरिरहेको वडाअध्यक्ष योगीले बताए । यस्तै,ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालयकी केन्द्रीय उपाध्यक्ष तथा नेपालगन्ज शाखाकी प्रमुख ब्रहमाकुमारी दुर्गाले बच्चाको पहिलो विद्यालय घर र पहिलो शिक्षक आमा भएको बताइन् ।

‘बच्चाको भलो चाहनुहुन्छ भने चार कुरा नगर्नुहोस् । बच्चालाई अरूसँग तुलना नगर्नुहोस । बच्चाको अगाडि अरूको कुरा नकाट्नुहोस् । बच्चालाई नराम्रो कुराको प्रतिष्पर्धामा सलंग्न नगरौ । उनीहरूको क्षमता उजागर गर्न दिनुस् बच्चालाई सकारात्मक सोचको पैदा गराउनुहोस्’ उनले भनिन् । बच्चाहरु काँचो माटो जस्तै भएकोले उनीहरुलाई जस्तो बनायो त्यस्तै बन्ने भएकोले असल व्यवहार सिकाउन आवश्यक रहेकोमा जोड दिइन् ।

स्कुलका संस्थापक प्रिन्सिपल ओविन्द्र बहादुर केसीले २०५८ सालमा २३ जना विद्यार्थीबाट स्कुलको स्थापना भएको बताए । उनका अनुसार स्कुल अहिले यस क्षेत्रकै उत्कृष्ट शिक्षालयको रूपमा स्थापित भएको छ । ‘गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएको बताए । सत्यको बाटोमा छौ । अभिभावकको भरोसा टुट्न दिने छैनौ ।’
उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न परिकार बनाएका थिए । फुड फेस्टिबलमार्फत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गरिएको थियो । सो अवसरमा उनीहरुले अभिभावकलाई आफैले परिकार बनाएर खुवाएका थिए । २३आँै वार्षिकोत्सव तथा फुड फेस्टिबल कार्यक्रम–२०८१ को अवसरमा विद्यार्थीहरुद्धारा सांगितिक प्रस्तुति प्रस्तुत गरिएको थियो । यस्तै विभिन्न क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २६ गते शनिबार