अलौकिक र अद्भुत प्रयागराज यात्रा



सतिश निरौला-यतिबेला भारत मात्रै होइन नेपालसमेत कुम्भमय बनेको छ । १४४ वर्षमा लागिरहेको महाकुम्भमा सहभागी हुन पाउनु यो शताब्दीकै अद्भुत र अलौकिक क्षण हो । म पनि सपत्नी (मीना निरौला) महाकुम्भमा पुगेर महाकुम्भ स्नान गर्ने अवसर पाएँ । त्यो पनि पुज्यपाद नेपाल प्रथम ऐतिहासिक जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको असीम स्नेह र सानिध्यमा ।

बिहानको ११ बजे खजुरा–३ स्थित आफ्नै निवासबाट जगत्गुरु महाराजश्रीसहितको दुई सुरक्षाकर्मीसहित हामी १० जनाको समूह तीर्थराज प्रयागतर्फ निस्कियौँ । जगद्गुरु महाराजश्री सवार गाडीमा नै चढ्ने अवसर प्राप्त हुँदा महाराजश्रीसँग अभूतपूर्व सत्संग र महाराजश्रीका दिव्य ज्ञान सुन्दै हामी राति १ बजे तीर्थराज प्रयाग पुगियो । नेपाल प्रथम ऐतिहासिक जगतगुरु महाराजश्रीका लागि सेक्टर १४ मा श्री निम्वार्क पीठाधीश्वर नारद टिला मथुरा श्री महन्त हेमकान्तशरण देवाचार्यज्यूको विशेष आमन्त्रण थियो ।

हाम्रो सवारी साधन त्यस स्थलभन्दा झन्डै ८ किलोमिटर परै रोकिएपछि श्री महन्त हेमकान्तशरण देवाचार्यज्यूको अखडाबाट महामन्त्री महाराजश्री सहित हामीलाई लिन हाम्रो सवारी साधन रोकिएको स्थलमा आइपुग्नुभयो उच्च भारतीय सुरक्षासहितको महाराजश्रीको सवारीसहित हेमकान्तशरण देवाचार्य अखडामा हामी पुगियो । हामीलाई विश्रामका लागि त्यही अखडामा व्यवस्थापन थियो, त्यहाँ दुई रात बसियो सन्तहरूसँगको सानिध्य र सत्संग श्रवण गर्ने अवसर मिल्यो ।

हामी महाकुम्भ स्नान झन्डै ४० किलोमिटर ओहोरदोहोर गरियो । १४४ वर्षपछि आयोजना भएको यो दिव्य, भव्य र अलौकिक महाकुम्भमा जीवनसाथी मीनासहितको पवित्र स्नानले तन र मन दुवै प्रफुल्ल भयो । यो अद्भुत क्षणको साक्षी हुन पाउनु र लाखौं साधु सन्तको दर्शन गर्नु मेरो जीवनकालकै अविस्मरणीय घटनाको रूपमा घटित भयो । दैनिक लाखौँलाखको भीड र काफिलाको व्यवस्थापन अचम्म लाग्दो देखियो । बाँके जिल्लाबराबरकै कुम्भ नगरीका हरेक सेक्टर एक गाउँभन्दा ठुला थिए ।

ती सेक्टरभित्र बनेका अखडा साना पनि ४–५ बिघाको क्षेत्र ओगटेका थिए । हरेक २०–२० मिटरमा खानेपानी र शौचालयको व्यवस्थापन थियो । दैनिक ३५–४० लाख जाने र निस्कने क्रम चलिरहेको कुम्भक्षेत्रको अर्काे अचम्मलाग्दो विषय फोहोर व्यवस्थापनको देखियो । कहीँ कतै सानोतिनो कागजका टुक्रा फालिएको देखिएनन् । कहीँ पानीका बोतल वा कुनै प्रकारका फोहोर बाटोमा देखिएन ।

कुम्भक्षेत्रमा देखिएको सबैभन्दा महत्वपूर्ण कुरा फोहोर व्यवस्थापन, पानी, बिजुली र शौचालयको र बसोबासको सहज प्रबन्ध थियो । सुरक्षा व्यवस्थासमेत निकै चुस्त र कडा थियो । धार्मिक आस्थाको सैलाब देखिन्थ्यो, कुम्भ नगरी प्रयागराज पुरा । यो भव्य र अद्भुत महाकुम्भको आयोजन र व्यबस्थापन हेर्दा अकल्पनीय देखिन्थ्यो । महाकुम्भका कारण अयोध्याजी र वनारससमेत भरिभराउ र अस्तव्यस्त देखियो । यो महाकुम्भ आयोजनले हिन्दुस्तानको विशेषगरी उत्तर प्रदेश राज्यको अर्थतन्त्रमा ठूलो सकारात्मक प्रभाव पारेको सहजै देखिन्थ्यो ।

दिव्य र भव्य कुम्भनगरीको पावन भूमि तीर्थराज प्रयाग भ्रमण र पवित्र नदी गंगा, यमुना र सरस्वतीको पवित्र संगमको धार्मिक र पवित्र स्नान यो मानवचोलाको विशेष आजीवनको एक आनन्दमय र यादगार क्षणका रूपमा रहे । जय कुम्भ नगरी प्रयागराजको, जय महाकुम्भको साथै जय पुज्यपाद नेपालका प्रथम ऐतिहासिक जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २२ गते मंगलबार