29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

‘साइकल कल्चर’को विकास गर्न प्रतियोगिता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख १, २०८१  

कोहलपुर ।

सवारी साधनको बढ्दो प्रयोगले मानव स्वास्थ्यदेखि वातावरणसम्म प्रतिकूल प्रभाव पारिरहेका बेला ‘साइकल कल्चर’को विकास गर्न कोहलपुरमा साइक्लिङ प्रतियोगिताको आयोजना गरिँदै छ । नयाँ वर्ष २०८१ को अवसर पारेर आज (वैशाख १ गते) कोहलपुरस्थित स्वर्गद्वारी साइक्लिङ क्लबले लुम्बिनी प्रदेशस्तरीय मेयर कप साइक्लिङ प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको स्वर्गद्वारी साइक्लिङ क्लब कोहलपुरका संरक्षक केशर आलेले जानकारी दिए । ‘हामीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ,’ संरक्षक आलेले भने, ‘प्रतियोगितामा ६० जना प्रतियोगी र करिब ३ सय जना फन राइडरहरूको सहभागिता हुनेछ ।’ साइक्लिङका विभिन्न प्रतियोगिता हुने गरेकामा यो उकालोतिर चढ्ने अपहिल प्रतियोगिता भएको आलेले जानकारी दिए । कोहलपुरदेखि देउराली मन्दिरसम्मको दूरी करिब २१ किलोमिटर छ ।

कोहलपुरमा आयोजना भएको यो दास्रो संस्करण हो । अघिल्लो वर्ष बाँके जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएकोमा यसपटक प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको हो । ‘आगामी दिनमा हामी राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारीमा छौँ,’ संरक्षक आलेले भने । प्रतियोगितामा रूपन्देही, सल्यान, प्युठान, दाङ र बाँकेका प्र्रतियोगी तथा फन राइडरहरू सहभागी हुँदै छन् ।

देउराली मन्दिरलाई धार्मिक पर्यटनस्थलको रूपमा विकास गर्नुका साथै वातावरणको संरक्षण, संवद्र्धन गर्न र साइकल प्रयोगलाई संस्कारको रूपमा विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्वर्गद्वारी साइक्लिङ क्लबका सचिव अमितकुमार पाठकले जानकारी दिए । क्लबका सचिव पाठकले ‘साइकल चढ्नु हरेक हिसाबले उपयोगी भएको दाबी गर्दै भने, ‘आफ्नो स्वास्थ्यलाई फिट राख्न नियमित साइकल चलाउनु आवश्यक छ ।’

‘स्वस्थ जीवन स्वच्छ वातावरण तथा आन्तरिक पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिँदै छ ।
विकसित देशहरूमा साइकल कल्चर विकास भइसके पनि नेपालमा भने अझै साइकल चढ्ने बानीको विकास हुन नसकेको उनले बताए ।

‘नेपालमा पनि साइकल चढ्ने बानीको विकास होस् भनेर हामीले यो प्रतियोगिताको आयोजना गरेका हौँ,’ उनले भने, ‘यसका आयामिक फाइदा छन्, वातावरण संरक्षणदेखि मानव स्वास्थ्यसम्म यसले सकारात्मक प्रभाव पार्छ । थपमा यसलाई पर्यटनसँग जोडेर आम्दानीको स्रोत पनि बनाउन सकिन्छ ।’ कोहलपुरदेखि देउरालीसम्मको रुट राख्नुको प्रमुख उद्देश्य पनि देउरालीमा धार्मिक पर्यटन प्रवद्र्धन गर्नु रहेको उनले बताए ।

बिहान ७ बजे कोहलपुर नगरपालिका गेटबाट सुरु भई रत्न राजमार्गमा रहेको देउराली मन्दिरसम्म पुग्ने साइकल प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले गर्दैै छन् ।

महिला र पुरुष गरी प्रतियोगिताका दुई विधा रहेका छन् । प्रतियोगी मात्र नभएर अप्रतियोगी साइक्लिस्टसमेत सहभागी हुन सक्ने सो प्रतियोगितामा उमेर हद पनि तोकिएको छैन ।

सबै उमेर समूहका महिला पुरुष साइक्लिस्टले यसका सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । कोहलपुर नगरपालिकाको मुख्य प्रायोजन, गोरखा युनाइटेड पब्लिक स्कुल र नागरिक हस्पिटलको सहप्रायोजनमा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रकाशित मितिः शनिबार, बैशाख १, २०८१     7:31:30 AM  |