12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

कोहलपुर परीक्षा नतिजा विवादःठूलो शैक्षिक गिरोहकै हात रहेको आशंंका

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र २८, २०८०  

कोहलपुर।
कोहलपुर नगर शिक्षाद्वारा सञ्चालित आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८)को नतिजाका विषयलाई लिएर कोहलपुरमा बबन्डर मच्चिएको छ। उक्त नतिजाको विवाद बढ्दै गएपछि मंगलबार शिक्षा शाखामा तालाबन्दी हुनुका साथै विभिन्न राजनीतिक दल र विद्यार्थी संगठनले तीव्र विरोध जनाएका छन् ।

यसै सन्दर्भलाई लिएर नगरपालिकाले मंगलबार साँझ सर्वदलीय भेला गरेर यस विषयमा छलफलसमेत गरेको छ । केही दिनदेखि नतिजाको विषयलाई लिएर सामाजिक सञ्जालदेखि तालाबन्दीसम्म भएपछि यसको निकास खोज्न नगरपालिकाले सर्वदलीय बैठक बोलाएको हो ।
छलफलका अवसरमा सहभागीहरूले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने जो कोहीलाई कारबाही गर्न नगरपालिका तयार हुनुपर्ने माग गरेका छन् ।

नगरपालिका शिक्षा शाखा कर्मचारी, परीक्षा निरीक्षक, शिक्षक वा वडाअध्यक्ष जोसुकै हुन् दोषी देखिए कडा कारबाही गर्ने हिम्मत नगरपालिकाले राख्नुपर्ने उनीहरूको भनाइ छ । अधिकांश सहभागीहरूले नगरपालिकाले बनाएको छानबिन समिति भंग गरी विज्ञहरूको छानबिन समिति बनाउनुपर्ने मागसमेत गरेका थिए । वर्तमान समिति संयोजकले कुनै दलविशेषको प्रतिनिधित्व गर्ने भएकाले निष्पक्ष छानबिन हुन नसक्ने उनीहरूको तर्क थियो ।

एकातिर वडा अध्यक्षहरू नै निरीक्षण टोलीमा खटाउने अर्कातिर उनीहरूलाई नै छानबिन समितिको जिम्मा दिने काम गरिएको भन्दै सहभागीहरूले आपत्तिसमेत जनाएका थिए । छलफलका क्रममा कतिपयले नगरपालिकाले शैक्षिक गुणस्तर कायम गर्ने नाममा परीक्षा हलमा सिसी क्यामरा जडान गरेर विद्यार्थीलाई त्रसित बनाएको समेत आरोप लगाएका थिए ।

सहभागीहरूका गुनासा र जिज्ञासाको जबाफ दिँदै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले निष्पक्ष छानबिन गरेर दोषीमाथि कडा कारबाही गरिने प्रतिबद्धता जनाएका छन । आफूमाथि कुनै आशंका नगर्न आग्रह गर्दै उनले निष्पक्ष छानबिनका लागि सहज वातावरण बनाइदिन पनि सहभागीहरूसँग आग्रह गरे ।

एक जना मात्र नभई यसमा ठूलो गिरोह लागिपरेकाले शूक्ष्म अनुसन्धान गर्नुपर्ने आवश्यकता आँैल्याउँदै आफूलाई सहज वातावरण बनाइदिन पनि उनले आग्रह गरे । विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नेलाई हतकडी लगाएर थुनिने उनको दाबी छ । ‘जबसम्म विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गिरोहलाई हत्कडी लगाउँदिनँ तबसम्म मलाई शान्ति मिल्नेछैन,’ नगर प्रमुख आचार्यको भनाइ थियो ।

सामुदायिक र संस्थागत विद्यालयलाई सूचना जारी गरेर कपि परीक्षणका लागि कम्तिमा एक वर्ष अनुभव भएको विषय शिक्षक शाखामा पठाई कपि परीक्षणमा सहयोग गर्दिन अनुरोध गरिएबमोजिम कपि जाँच गरिएको उनले जानकारी दिए । कपि चेक गरेबापत विगतमा दिइँदै आएको ७ रूपैैयाँलाई बढाएर १५ रूपैयाँ प्रतिकपि पु¥याइएको पनि उनले बताए । साथै कपि जाँच गर्ने शिक्षकलाई कपि जाँच गर्नुपूर्व नै आफूले यसपटकको परीक्षा व्यवस्थित र मर्यादित बनाउन खोजिएको जानकारी दिँदै कहीँ कतै त्रुटि भए क्षम्य नहुने निर्देशनसमेत आफूले दिएको नगर प्रमुख आचार्यको भनाइ थियो ।

विगतका वर्षहरूमा यस्ता त्रुटि हुन्छन् भन्ने सुनेकाले आफू पटक–पटक कपि परीक्षण स्थलमै पुगेर शिक्षकहरूलाई त्रुटि नगर्न आगह्र गरेको आचार्यले स्मरण गरे । नजिता प्रकाशनपूर्व सम्बन्धित सबैसँग सल्लाह गरेर नीति अनुसार जस्ताको तस्तै २३ गते नजिता प्रकाशन गरिएको पनि उनले जानकारी दिए । सामुदायिक र संस्थागत दुवै विद्यालयका निराशाजनक नजिता आएपछि समाजमा यसबारे विमर्श हुन थालेको र आफूलाई फोन र ह्वाटएपबाट धमाधम नतिजासम्बन्धी गोप्य सूचनाहरू आउन थालेको उनले बताए ।

त्यसलगत्तै आफूले प्रमाण नष्ट हुने डरले नगर शिक्षामा ताला लगाउन निर्देशन दिएको उनले जानकारी दिए । परीक्षा मर्यादित बनाउन खोज्दा आफूले धेरै अपमानसमेत झेल्नुपरेको उनको भनाइ थियो । छानबिन समिति बनेकाले आगामी सात दिनभित्र छानबिन समितिले ल्याएको प्रदिवेदन सार्वजनिक गरेर दोषीलाई हत्कडी लगाउने प्रतिबद्धता पनि उनले जनाए । समितिलाई राजनीतिक आँखाबाट नहेरी विश्वास गर्न सबैसँग उनले आग्रह गरेका थिए ।

कहीँकतै राजनीतिक आग्रह पूर्वाग्रह नराखी प्रतिवेद ल्याइने छानबिन समितिका संयोजक वीरेन्द्रकुमार शाहले दाबी गरे । आफूहरू प्रमाण जुटाउन लागिपरेको जानकारी दिँदै उनले विषय विज्ञ ल्याएर क्रस चेक गरिरहेको जानकारी दिए । नतिजा विवाद बढ्दै गएपछि यसअघि नै नगर प्रमुख आचार्यले एक विज्ञप्ति प्रकाशित गरी अपराध गर्नेलाई नछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विज्ञप्तिमा उनले कोहलपुर नगर क्षेत्रभित्रका विद्यालयको कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षालाई मर्यादित एवम् व्यवस्थित बनाई आम विद्यार्थी भविष्यमा उत्कृष्ट जनशक्ति बन्न सकून भन्ने पवित्र उद्देश्यका साथ यस वर्षको आधारभूत तहका परीक्षाका सम्पूर्ण प्रक्रिया पूरा गरी नतिजा प्रकाशन गरिएको जनाएका छन् ।

आधारभूत तहको नतिजा प्रकाशनसम्म आइपुग्दा सबै प्रक्रियाहरू परीक्षा सञ्चालन निर्देशिका र पूर्ण आचारसंहिताको पालना गरी सम्पन्न गरिएको दाबी नगर प्रमुख आचार्यले गरेका छन् । प्रकाशित नतिजापश्चात भएका घटनाक्रमउपर कोहलपुरका आमसमुदायलाई सूचित गर्नु र स्पष्ट पार्नु आफ्नो कर्तव्य भएको आचार्यको भनाइ छ ।

उनले विज्ञप्तिमा नतिजा प्रकाशनका विषयमा प्राप्त उजुरीहरूलाई हार्दिकतापूर्वक स्वीकार गरी उजुरीहरूको गम्भीरतालाई सम्मान गर्दै कहीँ कतै नियतवश कुनै व्यक्तिबाट त्रुटि भएको अवस्थामा त्रुटि गर्ने व्यक्ति वा संगठित समूह पुष्टि भएमा निर्ममतापूर्वक कारबाही गर्ने प्रतिबद्धता जनाउँदै यस विषयमा कुनै शंका नगर्न अनुरोध गरेका छन् ।

यस क्षेत्रमा रहेका राजनीतिक दल, विद्यार्थी संगठन, शिक्षकका पेसागत संगठन अभिभावक, विद्यार्थी, आम वुद्धिजीवीहरूले शिक्षा क्षेत्रमा पालिकाका गतिविधिप्रति चासो र चिन्ता देखाएकोमा कृतज्ञता प्रकट गरेका छन् । परिवर्तनका लागि साहस बटुल्न र निर्मम हुन आवश्यक देखिएको बताउँदै नगर प्रमुख आचार्यले नगरपालिकाभित्रको शैक्षिक क्षेत्रको विगतदेखिको निरन्तरता र नियमित प्रक्रियालाई क्रमभंग गरी अध्ययन र मूल्यांकन पद्धतिलाई चुस्त गराउने आफूहरूको प्रयास रहेको नगर प्रमुख आचार्यको भनाइ छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम प्राप्त २३ वटा शैक्षिक अधिकारमध्ये आधारभूत तहको परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी स्थानीय निकायमा रहेको छ । नतिजा प्रकाशनमा भएको चलखेलको नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दल तथा तिनका विद्यार्थी संगठनले ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरूले विज्ञसहितको निष्पक्ष छानबिन समिति बनाएर छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मितिः बुधबार, चैत्र २८, २०८०     6:51:28 AM  |