12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

मेची महाकाली दौड अभियानमा धावक अधिकारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र २४, २०८०  

कोहलपुर।
मेची महाकाली दौड अभियानमा रहेका झापाका धावक जीवनाथ अधिकारी शुक्रबार कोहलपुर पुगेका छन् । चैत ७ गते काकरभिट्टा मेची पुलबाट उनले मेची महाकाली दौड अभियान थालेका हुन् । यात्राका क्रममा रहेका अधिकारीलाई कोहलपुरमा स्वागत तथा शुभकामनासहित सम्मान गरिएको थियो । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ यात्रा थालेको उनले बताए ।

स्थानीय, प्रदेश र संघ सरकारबाट सहयोग नपाएपछि आफू ओझेलमा परेको धावक अधिकारीले गुनासो गरे । उनका अनुसार सानै उमेरदेखि दौड प्रतियोगितमा भाग लिँदै धावक बन्न सफल भएका उनी अवसर नपाएपछि पछिल्लो समय गुमनाम थिए ।
अहिलेका युवाहरूलाई जागरुक बनाउन र लागूऔषधबाट मुक्त बनाउन आफ्नो मेची महकाली दौड अभियानले केही मद्दत पुग्ने उनको भनाइ छ ।

विदेशिने नेपाली युवाको संख्या बढ्दो रहेकाले उनीहरूलाई खेलकुदमा अभिप्रेरित गर्न पनि आफूले यो अभियान सञ्चालन गरेको उनले बताए । ५२ वर्षीय अधिकारी उमेर ढल्किँदै जान थालेकाले मेची महाकाली अभियानपछि यस क्षेत्रबाट सन्न्यास लिने सोचमा रहेको उनले मिसन टुडेलाई जानकारी दिए ।

यात्राका क्रममा विभिन्न ठाउँका जनप्रतिनिधि तथा व्यक्तिले सहयोग गरेकाले यात्रामा कठिनाइ नभएको उनले बताए । प्रत्येक दिन सहज भए ६० र कठिनाइ भए ५५ किलोमिटर दौडिने र बास बस्ने गर्ने गरेको उनको भनाइ छ ।

प्रकाशित मितिः शनिबार, चैत्र २४, २०८०     6:40:37 PM  |