कोहलपुर ।
गुरुकुल शिक्षा सदनले आठौँ वार्षिकोत्सव सम्पन्न गरेको छ । आइतबार कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विश्वकर्माको प्रमुख अतिथ्यमा वार्षिकोत्सव सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रमुख अथिति विश्वकर्माले गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।
गुरुकुल शिक्षा सदनलाई संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्न उनले आग्रह गरे । कोहलपुरलाई शैक्षिक हब बनाउन गुरुकुल सदनलगायत सबैको साथ सहयोगको आवश्यक रहेको उनको भनाइ थियो । वार्षिकोत्सव, अभिभावक भेट र पुरस्कार वितरणले विद्यार्थीहरूको मनोबल बढ्ने पनि उनले बताए । गुरुकुल शिक्षा सदन कोहलपुरले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कार्यक्रमका सभापति अमृत ढकालले बताए ।
आठौँ वर्षसम्म आइपुग्दा विद्यालयले आफ्नो छुट्टै परिचय बनाउन सफल भएको उनको भनाइ छ । विद्यार्थीहरूलाई शान्त वातावरण खेल्दै पढ्ने वातावरण स्कुलले मिलाएको उनले बताए । बालबालिकाको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले जोड दिएको कोहलपुर नगरपालिका–५ वडाध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए । बालबालिका भविष्यका कर्णधार भएकाले शिक्षक र विशेषगरी अभिभावकले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
कक्षा ५ सम्म मात्रै पढाइ हुने गरेको गुरुकुलमा चाँडै नै १० कक्षासम्म सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक सुवास ढकालले जानकारी दिए । सो अवसरमा विद्यार्थीहरूले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । साथै उक्त अवसरमा विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै अथितिलाई मायाको चिनो प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्