नेपालगन्जमा किरियापुत्री भवन बन्दै



नेपालगन्जमा पहिलो सार्वजनिक किरियापुत्री भवन बन्ने भएको छ । नेपालगन्ज उपमहानगरको वडा नम्बर ४ स्थित शिव पार्वती मन्दिर अगाडि किरियापुत्री भवन बन्ने भएको हो ।

नेपालगन्ज ।
बढ्दो सहरीकरणका कारण घरघरमा पितृकार्य गर्न असहज हुँदै गएका बेला नेपालगन्जमा पहिलो सार्वजनिक किरियापुत्री भवन बन्ने भएको छ। नेपालगन्ज उपमहानगरको वडा नम्बर ४ स्थित शिव पार्वती मन्दिर अगाडि किरियापुत्री भवन बन्ने भएको हो । किरियापुत्री भवनको हालै एक समारोहका बीच नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गरे ।

सो अवसरमा बोल्दै नगर प्रमुख विष्टले किरियापुत्री भवनले दुःखद कार्यमा परेका नगरबासीलाई सहजता प्राप्त हुने विश्वास व्यक्त गरे । उनले नेपालगन्जमा टड्कारो रूपमा किरियापुत्री भवनको आवश्यकता महसुस हुँदै आएकोमा सबैको साझा प्रयास र सहभागिताबाट भवन बन्नु सराहनीय कार्य भएको बताए ।

करिब ६० लाखको लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको किरियापुत्री भवनले सर्वसाधारणलाई काजकिरिया गर्न राहत प्रदान गर्ने निर्माण समितिका संयोजक सेमराज शाक्यले बताए । दुई वटा परिवारले एकसाथ किरिया गर्न मिल्ने गरी बनाउन थालिएको भवन दुई तलाको हुने शाक्यले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिका र वडा नम्बर ४ को सहयोग र समन्वय तथा विभिन्न व्यक्तित्वहरूको स्वःस्फूर्त सहयोगबाट किरियापुत्री भवन बन्न लागेको हो । शिलान्यास कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, समाजसेवी एवम् दाताहरू माधवी शाह, डा. सावित्रा कक्षपति, माधवराम बर्मालगायतले सामुदायिक सहभागितामा बन्न लागेको किरियापुत्री भवनमा सबैको हातेमालो आवश्यक रहेको धारणा राखेका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०८० फागुन २१ गते सोमबार