विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण



कोहलपुर ।
कोहलपुर नगर शिक्षा शाखाले नगरपालिकाभित्रका विद्यालयहरूलाई सेनेटरी प्याड उपलब्ध गराएको छ । शुक्रबार नगर शिक्षा शाखाले एक कार्यक्रमको आयोजना गरी विद्यालयहरूलाई सेनेटरी प्याड हस्तान्तरण गरेको हो ।कोहलपुर नगर पालिकाकी उपप्रमुख संगीता सुबेदीले कोहलपुरकै नमुना विद्यालय त्रिभुवन माविका प्रधानाध्यापक देवका थापालाई प्याड हस्तान्तरण गरेर वितरण कार्यक्रमको सुरुवात गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगर उपप्रमुख सुबेदीले विगतको अनुभवबाट सिकेर यस वर्ष नगरपालिकाले गुणस्तरीय प्याड उपलब्ध गराएको दाबी गरिन् । गत वर्ष गुणस्तरहीन प्याड वितरण भएको गुनासो आएपछि ठेकेदार कम्पनीको ११ लाख रूपैयाँ बराबरको धरौटी जफत गरेर प्याड फिर्ता गरिएको बताउँदै यस वर्ष गुणस्तरलाई प्राथमिकता दिइएको जनाइन् । ‘यसपालि प्याडमा कुनै गुनासो आउँदैन,’ उनले भनिन्, ‘किनकि हामीले गुणस्तरमा कुनै सम्झौता गरेका छैनौँ ।

गुणस्तर विभागले समेत पास गरेपछि मात्र हामीले प्याड वितरण गरेका हौँ ।’ त्यस्तै, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले प्याड, वितरण, व्यवस्थापन, भण्डारण र अभिलेखीकरणमा ध्यान दिन विद्यालयहरूलाई आग्रह गरे । प्याड मुसाका लागि अत्यन्तै प्रिय वस्तु भएकाले भण्डारमा निकै सचेत हुन विद्यालय प्रशासनले ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘प्याड प्रयोगका साथै डिस्पोजलको पनि उचित व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘प्रयोगपछि डिस्पोजलको उचित व्यवस्था नहुँदा प्याडको सही किसिमले प्रयोग हुन नसक्ने गरेको देखिएको छ ।’

त्यसैले प्याड वितरण सँगसँगै डिस्पोजलका लागि भेन्डिङ मेसिनको समेत व्यवस्थाका लागि नगरपालिकाले प्राथमिकता दिएको उनको भनाइ छ । त्यसैले यस वर्ष १३ वटा भेन्डिङ मेसिन नगरपालिकाले खरिद गरेको र पहिलो चरणअन्तर्गत ती मेसिन नगरभित्रका मावि विद्यालयहरूलाई वितरण गरिने उनले जनाए । नगर शिक्षा शाखा प्रमुख राबहादुर हमालले सेनेटरी प्याड वितरणका दुई प्रक्रियामध्ये नगरपालिकाले नै टेन्डर आह्वान गरेर वितरण गर्दा प्रभावकारी हुने देखिएकाले नगरपालिकाले नै वितरण गरेको बताए ।

विद्यालयमा रकम निकासा गरेर वितरण गरिँदा विवाद बढी विवाद आउने र कम प्रभावकारी हुने गरेको उनको भनाइ छ । प्रक्रियाका कारण केही ढिलाइ भए पनि गुणस्तर कायम गर्न सफल भएको र अब वितरणलार्ई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । नगर शिक्षा शाखाका अधिकृत रविलाल मिजारले गुणस्तरीय प्याडका लागि विभिन्न प्रक्रिया पार गर्नुपरेकाले केही समय ढिला भए आगामी सात महिनाका लागि पुग्ने गरी प्याड वितरण गरिएको बताए । असोजमा टेन्डर आह्वान गरिए पनि गुणस्तर कायम गर्नका लागि विभिन्न प्रक्रिया पार गर्दा ढिला भएको उनले स्पष्ट पारे । बजेट र कार्यक्रम सुनिश्चि भएमा आगामी वर्ष समयमै प्रक्रिया सुरु गरिने उनले बताए ।

‘आगामी ७ महिनासम्म पुग्ने गरी अहिले प्याड वितरण गरेका छौँ,’ उनले भने, ‘आगामी वर्षदेखि समयमै प्रक्रिया सुरु गर्छौं ।’ त्यस्तै, नगर शिक्षा शाखाकी अधिकृत शिला गौतमले संघीय सरकारको ५९ लाख ६० हजार रूपैयाँ ससर्त अनुदानबाट नगरभित्रका विद्यालयहरूमा सो प्याड वितरण गरिएको जानकारी दिइन् । साथै उनले प्याड वितरणको अभिलेखीकरण राम्रोसँग गर्न पनि विद्यालयहरूलाई आग्रह गरिन् । वितरण राम्रोसँग गरिए पनि त्यसको व्यवस्थित अभिलेखीकरण गर्न नसक्दा विगतमा लेखापरीक्षण्का क्रममा विभिन्न प्र्रश्नहरू उठ्ने गरेको बताइन्् ।

भण्डार, वितरण र अभिलेखीकरणलाई व्यवस्थित बनाउन विद्यालयले समेत अनिवार्य रूपमा समिति बनाएर काम गर्नुपर्ने उनको भनाइ थियो । ‘सम्भव भएसम्म महिला शिक्षकको संयोजकत्वमा यस्तो समिति बनाउँदा विद्यालयका छात्राहरूलाई समेत सहज हुन्छ,’ उनले भनिन्, ‘र, वितरण र प्रयोगलाई पनि प्रभावकारी बनाउन सकिन्छ ।’उपमेयरको संयोजकत्वमा सात सदस्यीय समिति बनाएर नगरपालिकाले सेनेटरी प्याड छनोट, टेन्डर र वितरण प्रक्रिया पूरा गरेको हो ।

नगरभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत ६ देखि १२ कक्षासम्मका छात्राहरूलाई लक्षित गरेर सो सेनेटरी प्याड वितरण गरिएको छ ।सो अवसरमा कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विश्वकर्मा, विभिन्न विद्यालयका प्रधानाध्यापक, नगर शिक्षाका कर्मचारी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा भेन्डिङ मेसिन सञ्चालनबारे जानकारीसमेत दिइएको थियो ।

 

प्रकाशित मिति : २०८० फागुन १२ गते शनिबार