नेपालगन्ज ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले दल, उद्योगी र कर्मचारीको गठबन्धनले देशलाई लुट्ने काम गरेको आरोप लगाएका छन् । वर्तमान सरकारले पार्टी, वर्ग, घराना, समुदायको मतलब नराखेर कारबाही गरिरहेको बताए । बाँसबारी छालाजुत्ता, भुटानी शरणार्थी, ललिता निवास काण्डको उदाहरण दिँदै श्रेष्ठले माओवादी, नेपाली कांग्रेस, एमाले या जुनसुकै पार्टी भए पनि अपराध गरेको पाइएमा नछोड्ने चेतावनी दिए ।
नेपालगन्जमा पत्रकार तथा नागरिक समाजसँगको अन्तरक्रियामा बोल्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न सरकार लागिपरेको बताए । गृहमन्त्री श्रेष्ठले देशलाई समृद्धिको बाटोमा अघि लगेर जनतामा रहेको निराशालाई चिर्न सरकार लागि परेको दाबी गरे ।
उनले धार्मिक सद्भाव बिथोल्नेलाई सरकारले नछोड्ने चेतावनी दिँदै समाजमा द्वन्द्व गराउन खोज्ने जो कोहीलाई नछोड्ने उल्लेख गरे ।
गृहमन्त्री श्रेष्ठले प्रदेश सुरक्षा गोष्ठीमा लुम्बिनीका १२ जिल्लाका सुरक्षा अधिकारीले आ–आफ्नो जिल्लाको बस्तुस्थिति र चुनौतीहरू प्रस्तुत गरेकाले त्यसलाई हेरेर रणनीति बनाउने जानकारी दिए । बैठकमा लागूऔषधको मुद्दा विशेष रूपमा उठेको छ ।
गृहमन्त्री श्रेष्ठले लागूऔषधको कारोबार नियन्त्रण, दोषीलाई कारबाही, सचेतनाका कार्यक्रम र रिहाव सेन्टर सञ्चालनलाई सँगसँगै लिएर जाने रणनीति बनाइएको बताए ।
प्रतिक्रिया दिनुहोस्