हुम्लामा पर्याप्त खाद्यान्न भएको कम्पनीको दाबी



हुम्ला ।
सधैँ खाद्यान्न अभाव झेलिरहेको हिमाली जिल्ला हुम्लामा यसपटक भने खाद्यान्न पर्याप्तमा मात्रामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । कहिले ठेक्का सम्झौता ढिला हुँदा त कहिले ठेकेदार कम्पनीको ढुवानी लापरबाहीका कारण जिल्लाबासीले खाद्यान्न अभाव झेल्दै आउनुपरेको थियो ।

खाद्य कम्पनी हुम्ला शाखाका प्रमुख कृष्ण अधिकारीका अनुसार आर्थिक वर्ष २०८०÷८१ का लागि स्वीकृत भएको १४ हजार क्विन्टल चामल निरन्तर ढुवानी भएकाले खाद्यान्नको अभाव हटेको हो ।दैनिक फिस्टेल हेलिकोप्टरले चामल ढुवानी गरिरहेको छ । लिमिटेडको शाखा हुम्लामा रहेका दुई गोदाममध्ये एक गोदाम भरिएको र अर्काे गोदाम केही दिनमा भरिने अवस्थामा रहेको उनको भनाइ थियो ।

अहिले यस शाखामा ६ हजार २ सय क्विन्टल चामल रहेको र दुई नम्बर गोदाम भरिएर झन्डै ४ हजार ४ सय क्विन्टल चामल रहेको शाखा प्रमुख अधिकारीले जानकारी दिए । खाद्यान्न निरन्तर ढुवानी भइरहेका कारण वितरणमा समेत सहज भइरहेको छ । यही फागुन १३ देखि सर्वसाधारण, बजारवासी र कर्मचारीलाई दुई महिनाका लागि पुग्ने खाद्यान्न बिक्री वितरण गरिने भएको छ ।

भइपरी आउने कार्य जन्म र मृत्यु कार्यका साथै कैदीबन्दीलाई प्रत्येक हप्ताको शुक्रबार खाद्यान्न वितरण गरिरहेको उनले बताए । जिरा  मसिनो  चामल एक बोराको २ हजार ३ सय ७५ रुपैयाँ पर्ने गरेको छ । जिल्लास्थित विभिन्न राजनीतिक दलका नेतालाई भन्दा शाखाको गोदाममा पुग्ने जनतालाई बिक्रीवितरण गरिने उनको भनाइ थियो ।

 

प्रकाशित मिति : २०८० फागुन ८ गते मंगलबार