छोरी बलात्कार गरी छोराको हत्या गर्ने बाबु पक्राउ



सुर्खेत ।
छोरीको बलात्कार र छोराको हत्या गरेको आरोपमा फरार रहेका बुबालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ । सुर्खेत पञ्चपुरी नगरपालिका–६, कुवापानीका एक बुबालाई छोरीको बलात्कार र छोराको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । कुवापानीका २१ वर्षीय छोरा भरत बुढाको हत्या गरेको आरोपमा ४५ वर्षीय बुबा नयाराम बुढालाई बिहीबार प्रहरीले कैलालीबाट पक्राउ गरेको थियो ।

उनीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले कैलालीको टिकापुरबाट नियन्त्रणमा लिएको थियो । छोराको हत्या गरेर भागेका उनलाई मोबाइल लोकेसनका आधारमा कैलाली पुगेर अनुसन्धान टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए । बिहीबार नै उनीलाई सुर्खेत ल्याइएको उनले बताए ।

गत सोमबार राति सुर्खेतमा आफ्नै छोरालाई बन्चरोले हानेर मारेर फरार भएका बाबुविरुद्ध बुधबार मृतकका काकाले प्रहरीमा जाहेरी दिएका थिए । गत असोज २७ गते १९ वर्षीय छोरीलाई बलात्कार गरेको भन्दै कात्तिक १५ गते प्रहरीमा जाहेरी परेको थियो । जाहेरी परे लगत्तै फरार भएका आरोपित भारतमा लुकेर बसेका थिए ।

भारतमा काम गर्ने बाबु नेपाल फर्किएर छोरीलाई भेट्न बोलाएर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि कान्छी श्रीमती लिएर उनी भारत भागेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । बहिनीको बलात्कार गर्ने बाबुविरुद्ध मृतकले प्रहरीमा जाहेरी दिएका थिए ।अनुसन्धानमा उनकै बाबु भारतबाट आएर हत्यापछि भागेको देखिएपछि मृतकका काकाले प्रहरीमा बुधबार जाहेरी दिएका थिए ।

घटनाको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय नेपालगन्जबाट प्रहरी निरीक्षक बुद्धि सुवेदी, कर्णाली प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक नारायण शर्मा, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी हवलदार टीकाराम आचार्य, जवान टेकराज पराजुली, नवीन योगी र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षकसहितको संयुक्त टोली खटिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रबार