बाँसगढी जाऔँ, शुद्ध घिउमा बनेका सेलरोटी खाऔँ



सनत सापकोटा ।कोहलपुर ।
बाँसगढीमा जारी छैटौँ बाँसगढी महोत्सव तथा माघ मेलामा सेलरोटीले निकै चर्चा पाइरहेको छ । बाँसगढीका केही जागरुक महिलाहरूले बनाएको सेलरोटीले मेलामा सर्वत्र चर्चा बटुलेको हो । स्टेजनजिकै रहेको ११ नम्बर स्टल अहिले मेलाभरिको आकर्षणको केन्द्र बनेको छ ।
सबै उमेर समूहका नागरिकलाई सोे पसलले आकर्षित गरिरहेको छ । सेलरोटी खानकै लागि अहिले सो पसलमा सबै उमेर समूहका मानिसको भीड लाग्ने गरेको छ ।

यो स्टल बाँसगढीका केही जागरुक महिलाहरू आबद्ध रहेकोे अनमोल फाउन्डेसनले सञ्चालन गरेको हो । अनमोल फाउन्डेसन बाँसगढी बजारका केही सचेत र जागरुक महिलाहरूले सामाजिक सेवा भावले सञ्चालन गर्दै आएको संस्था हो । ‘हामीले विशुद्ध सामाजिक सेवा भावले यो स्टल सञ्चालन गरेका हौँ,’ फाउन्डेसनकी सदस्य भगवती शर्माले भनिन्, ‘परम्परागत रूपमा बनाइएका अग्र्यानिक सेलरोटी खुवाएर केही पैसा जम्मा गर्ने हाम्रो उद्देश्य हो ।’

मेलामा अहिलेसम्म दैनिक राम्रो व्यापार भइरहेको उनले जानकारी दिइन् । ‘८–९ हजार रुपैयाँको दैनिक बिक्री भइरहेको छ,’ शर्माले भनिन्, ‘तर अर्गानिक किसिमले सामग्री बनाउँदा खर्च बढी भएकाले बचत खासै हुन सकिरहेको छैन ।’ आफूहरूले अर्गानिक खाने कुरा खुवाइरहेको उनले बताइन् । शुद्ध भैँसीको ताजा घिउमा चामलको पीठोको सेलरोटी पकाएर खुवाउने गरिएको उनले दाबी गरिन् । प्रतिसेल २० रुपैयाँका दरले बिक्री गरिरहेको उनले जनाइन् । ‘दुईवटा सेल र अचार ५० रुपैयाँमा बेचिरहेका छौँ,’ उनले भनिन् ।

बजारमूल्यका हिसाबले यो खासै महँगो नभएको उनको भनाइ छ । यो स्टलमा पुग्ने जो कोहीले परम्परागत रूपमा चामलबाट बनेको तात्तातो सेलको स्वाद लिन पाउँछन् । सेलका अलावा यहाँ अचार, पकौडा र चिया कफी पनि राखिएको छ । ‘यहाँको स्पेशस सेलरोटी नै हो,’ फाउन्डेसनकी अर्की सदस्य सीता पौडेलले भनिन्, ‘सेलमात्र दिँदा शोभा नहुने भएकाले हामीले त्यसको साथमा अचारको पनि व्यवस्था गरेका हौैँ ।’ बहानामा पकौडा र चिया कफी पनि राखिएको उनले बताइन् ।

‘तर मानिसको प्रमुख आकर्षण पनि सेलरोटीमै छ,’ उनले भनिन्, ‘यो जाडोमा शुद्ध घिउमा बनेका तात्ताता सेल खान पाउँदा मानिस खुसी छन्।’ मानिसहरूले प्याकिङ गरेर घरमा समेत सेलरोटी लैजाने गरेको शर्माले बताइन् । ‘हामीलाई त पकाउँदा र दिँदा नै भ्याइनभ्याइ छ,’ उनले भनिन्, ‘आगन्तुकले मीठो मानेर खाइदिनुभएको छ । हामीलाई पनि खुसी लागेको छ ।’ सेलरोटी खाएपछि मानिसले सकारात्मक प्रतिक्रिया दिने गरेको उनले बताइन् ।

आफूहरूले व्यक्तिगत रूपमा नाफा कमाउने उद्देश्यले पसल सञ्चालन नगरेर सो पसलबाट भएको आम्दानी फाउन्डेसनमा जम्मा गर्ने उद्देश्य लिइएको र सो रकम सामाजिक सेवामा लगाइने उनले जानकारी दिइन् । २०६२ सालमा बाँसगढीका ११ जना महिलाले व्यक्तिगत रूपमा केही रकम जम्मा गरेर सो फाउन्डेसनको सुरुवात गरेका थिए । फाउन्डेसनको कोषमा जम्मा भएको रकमको ब्याजबाट उनीहरूले विभिन्न समयमा बाढीपीडित, कोरोनापीडित, अशक्त, ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई सहयोग पनि गर्दै आएको शर्माले बताइन् ।

फाउन्डेसनका सदस्यहरूका पारिवारिक खुसियालीमा स्वेच्छाले केही रकम जम्मा गर्ने, देउसी भैलो खेल्ने र यस्तै अवसरहरूको उपयोग गरेर रकम जम्मा गर्ने गरिएको शर्माको भनाइ छ । हालसालै मात्र बाँसगढीमा राधिका फाउन्डेसनद्वारा आयोजित महायज्ञमा अनमोल फाउन्डेसनका तर्र्फबाट १ लाख रुपैयाँ सहयोग गरिएको उनले बताइन् ।

‘हामी जम्मा भएको मूल धन चलाउँदैनौँ,’ उनले भनिन्, ‘जम्मा भएको ब्याजबाट विभिन्न असहाय, बालबालिका तथा ज्येष्ठ नागरिक तथा पीडितलाई सहयोग गर्दै आएका छौँ ।’ उनले यसअघि भक्तपुर क्यान्सर अस्पताल, काठमाडौँमा रहेको एक अनाथालयलगायतलाई अनमोल फाउन्डेसनले सहयोग गरिसकेको दाबी गरिन् । पुस २९ गतेदेखि जारी बाँसगढी महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८० माघ ४ गते बिहीबार