कैलाली।
शीतलहरसँगै बढेको चिसोले पश्चिम तराई जिल्लाहरूको जनजीवन कष्टकर बनेको छ । लगातारको हुस्सु, कुहिरो एवं जाडोले सूदूरपश्चिमका कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बन्नुका साथै किसानका बालीनालीमा समेत नकारात्मक असर परेको हो ।
शीतलहरका कारण डढुवा रोगले आलु, गोलभेँडालगायत तरकारी बालीमा समस्या देखिएको छ । ‘तीन दशक अघिसम्म यस्तो समस्या थिएन, जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिएको हुनसक्छ,’ कैलालीका किसान नारायण चौधरीले भने, ‘आलु गोलभेँडाको व्यावसायिक खेतीमा लागेकालाई यो रोगले निरुत्साहित बनाएको छ ।’
जिल्लामा तरकारी खेती व्यावसायिक खेतीको क्षेत्रफल विस्तार हुँदै गए पनि बर्सेनि पुस महिनामा देखिने डढुवा रोगको समस्याबाट बाली जोगाउन मुस्किल हुने गरेको उनको अनुभव छ । पैसा हुनेले विषादी किनेर आलु, गोलभेँडालगायतका बालीमा छर्किन थाले पनि विपन्न वर्गका किसानले भने उत्पादनको आशा मारेका छन् । यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’ बनाएर गोलभेँडालगायतको तरकारी बालीको खेती गर्ने गरेका पनि छन् ।
प्रत्येक सात÷आठ दिनको फरकमा ढुसीनाशक विषादी छर्किन सकेमा मात्र बाली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकको छ । डढुवाको जोखिम बढेपछि धेरै किसानले यतिबेला विषादी छर्किन थालेका छन् । हप्ता दिनको फरकमा विषादी छर्किनुपर्दा आलु गोलभेँडालगायतका बालीको उत्पादन लागत खर्च बढ्ने गर्छ । एउटै बालीमा पटकपटक विषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएकालाई बाली जोगाउनै मुस्किल हुने गरेको साना र विपन्न किसानको भनाइ छ । पटक–पटक विषादी छर्किंदा लागत खर्च धेरै पर्ने गरेको गुनासो उनीहरूको छ ।
रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने र चिसो मौसमको सुषुप्त अवस्थामा रहने ढुसी सक्रिय हुने भई बोटमा डढुवा रोगको सङ्क्रमणको समस्या देखिने गरेको कृषि प्राविधिक बताउँछन् । यो रोग लागेमा आलु, गोलभेँडाको पात, डाँठ र लागेको फल सडेर जान्छ । लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो मौसम भइरहँदा ओसिलो जग्गामा गरिएको आलु गोलभेँडालगायतको बालीमा डढुवा सङ्क्रमणको समस्या बढी देखिने गरेको कृषि प्राविधिक खगेन्द्रप्रसाद शर्माले जानकारी दिए ।
यसका लागि क्रिनोसिल गोल्ड, मेटाल्याक्जेल, एक्रोप्याट वा सेन्टिन नामको ढुसीनाशक विषादीको पाउडर प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किन सकेमा यो रोगबाट बाली बचाउन सकिने बताइएको छ । रोग लाग्ने सम्भावना देखिएमा भने बोटमा तोकिएको मात्रामा ‘मेन्कोजे’ पाउडर पानीमा घोलर छर्किंदा डढुवाको सङ्क्रमणबाट बाली जोगाउन सकिने बताइएको छ ।
डढुवा रोगको समस्या बढ्दै जाँदा कैलाली र कन्चनपुर जिल्लाको ठूलो क्षेत्रफलमा गरिने तोरी बालीको क्षेत्रफल घट्दै गएको किसानको अनुभव छ । ढुसीको सङ्क्रमण तोरीबालीमा पनि असर पु¥याउने गरेको छ । डढुवा रोगको समस्या बढ्दै जाँदा तोरी खेती गरिने क्षेत्रफल पहिलेको तुलनामा ह्वात्तै घटेको किसानको भनाइ छ । ‘विसं २०५४ सम्ममा आफ्नो दुई बिघाको पूरै खेतबारीमा तोरी लगाउँथ्यौँ,’ किसान वीरबहादुर थारूले भने, ‘त्यसपछिका वर्षमा भने डढुवा रोगको समस्या बढ्दै जाँदा यो बाली लगाउन छाड्नुप¥यो ।
’ पहिले गाउँमा हिउँदे याममा तोरी फुलेर हुने पहेँलपुर वातावरणले गाउँमा एकखालको रमाइलो हुने गरेको अनुभव उनको छ ।ढुसी रोगको समस्या बढ्दा तोरी बालीको विकल्पमा अधिकांश किसान धान र गहुँ खेती गरेर चित्त बुझाइरहेका छन् । बर्र्सेनि मौसममा भइरहेको परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भएमा पनि बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने, बेमौसमा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको सङ्क्रमणको समस्याका साथै मित्रजीव भन्दा शत्रुजीवको समस्या बढ्न थालेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्