24 June 2024  |   सोमवार, असार ११, २०८१

विपद् सामग्री हस्तान्तरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस २६, २०८०  

नेपालगन्ज।
विभिन्न प्रकारका विपद्को समयमा अति आवश्यक मानिने २५ प्रकारका सामग्री नेपालगन्ज उपमहानगरपालिकाले वडा प्रहरी कार्यालय नेपालगन्जलाई हस्तान्तरण गरेको छ ।  विपद्को बेला खोज तथा उद्धार कार्यमा प्रयोग हुने २५ थरिका सामग्रीलाई नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीलाई हस्तान्तरण गरेका हुन् ।

वडा प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएका सामग्रीमा ६ थान स्ट्रेचर, १२ थान लाइफ ज्याकेट, ४० थान हेल्मेट, १२ थान गम्बुट, एक फायर स्टिङ्गुसर, एक थान हाते माइक, १० वटा हेक्सो प्लेट, विभिन्न तौलका घनहरू, फस्ट ऐड बक्स, गोदालो, खन्ती, फरुवा, प्लास्टिकको ठूलो सानो डोरीलगायतका २५ प्रकारका उद्धार सामग्री रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताए ।

उनका अनुसार उद्धार तथा खोज सामग्री हस्तान्तरण गर्दै नेपालगन्जका मेयर विष्टले नेपालगन्ज भूकम्प, आगलागी, अत्यधिक गर्मी र शीतललगायतको उच्च जोखिममा रहेकाले कुनै पनि घटना हुँदा सबैभन्दा पहिले प्रहरी नै पुग्ने भएकाले यी सामग्री प्रदान गरिएको हो ।
उनले नेपालगन्जका केही वडाहरूमा रहेका पुराना बस्तीहरूका धेरै घर निकै कमजोर र जीर्ण अवस्थामा पुगेकाले भूकम्पको अत्यधिक जोखिम रहेकाले सो जोखिम न्यूनीकरणका लागि विभिन्न परियोजना सञ्चालन गरिएको पनि बताए ।

खोज तथा उद्धार सामग्री बुझ्दै वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक बिसीले कुनै पनि विपद्मा प्रहरी नै खटिनुपर्ने हुँदा प्रहरीलाई आवश्यक सामग्री र उपकरणको व्यवस्था गरिनुपर्ने बताए । उनले यी सामग्रीको संरक्षणसँगै सही सदुपयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

 

प्रकाशित मितिः बिहिबार, पुस २६, २०८०     8:06:10 AM  |