नेपालगन्ज।
भारत सरकारको कर र अवैध रूपमा चामल भित्रिन थालेपछि वैधानिक रूपमा नेपालगन्ज नाका हुँदै चामलको आयात धेरै घटेको छ । आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि मंसिरसम्मको तथ्यांकलाई मात्रै केलाउने हो भने विगतभन्दा चामल आयात कम भएको देखिन्छ ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म यो नाका हुँदै १ अर्ब ८२ करोड ५२ लाख २९ हजार मूल्यको ३२ हजार ३८ मेट्रिक टन चामल आयात भएको छ ।
जबकि यही अवधिमा आर्थिक वर्ष २०७९÷८० मा २ अर्ब ३ करोड ९९ लाख ४० हजार मूल्यको ३३ हजार ४ सय ३४ मेट्रिक टन चामल आयात भएको थियो । विगतको तुलनामा चालु आवमा १३ सय ९६ मेट्रिक टन चामल कम आयात भएको छ । नेपाल–भारत खुला सिमानाका कारण पछिल्लो समय चामलको तस्करी बढेका कारण आयात घटेको देखिन्छ । जसले गर्दा स्वदेशी राइस मिल उद्योगहरू नराम्ररी प्रभावित भएका छन् ।
तस्करीबाटै भारतीय चामल नेपालगन्जका घर र व्यावसायिक प्रतिष्ठानसम्म पुग्ने गरेको पाइएको छ । प्रहरीले नै पटक–पटक छापा मारेर त्यस्ता मिलबाट अवैध चामल बरामद गरिसकेकाले पनि यहाँ अवैध बाटोबाट ठूलो परिमाणमा चामल आयात हुने गरेको प्रस्ट हुन्छ । जसको सिधा असर यहाँका चामल मिल र भन्सार राजस्वमा परेको छ । पछिल्लो समय साइकल, ठेला र मोटरसाइकलमा भारतबाट अवैध किसिमले २५ किलोको स्टार, सनमुन, पालकी जस्ता चामल आयात भइरहेको छ ।
चामल उद्योग र पसलले अवैध रूपमा चामल ल्याएर बोरा परिवर्तन गरी आफ्नो उद्योगको नामको बोरामा भरेर बिक्री गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायाण डाँगीले मंसिर महिनामा त्यस्ता मिलमा छापा मारेर कारबाही गरिएको जानकारी दिए ।
चामलको आयात घट्नुमा भारतले नेपाल निर्यातमा लगाएको कर पनि अर्को कारण भएको व्यवसायीहरू बताउँछन् ।
भारत सरकारले निर्यातमा कर लगाएपछि नेपालमा धान, चामल र कनिकाको आयात घटेको हो । कर वृद्धि त छँदै छ तस्करी मुख्य समस्या रहेको पाइएको छ । भन्सार राजस्व चुहावट नियन्त्रणमा जुटेका निकायकै मिलेमतो र आँखासमेत छलेर नेपालगन्जका विभिन्न नाकाबाट चामल तस्करी हुँदै आएको छ । त्यसरी नेपालगन्जमा ल्याइएको चामल कर्णालीलगायतका जिल्लामा पठाउने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्