सरकारी अड्डामा गैरनागरिकको २५ वर्षदेखि रजाइँ



नेपालगन्ज।
नेपालगन्ज भन्सारनजिकै रहेको पशु क्वारेन्टाइन कार्यालय बाँकेको होल्डिङ यार्डको भवन २५ वर्षदेखि एउटा परिवारको नियन्त्रणमा । उक्त परिवारबाट सरकारी भवन नियन्त्रणमुक्त बनाउन सरोकारवाला निकायलाई हम्मेहम्मे परेको छ । कैयौँपटक प्रयास गर्दासमेत भवन खाली गर्न नसकिएको पशु क्वारेन्टाइनका अधिकारीहरू बताउँछन् ।

अतहर हुसेन शेष नाम गरेका व्यक्ति होल्डिङ यार्ड रेखदेखको काम गर्थे । उनी कस्ता कामदार थिए भन्ने नखुले पनि त्यहाँको रेखदेख गर्दै परिवारसँगै यार्डमा बस्थे । त्यही बसोबास गरिरहेका बेला उनको मृत्यु भयो त्यसपछि पनि परिवारका अन्य सदस्यहरू त्यहीँ बसिरहे । मानवीय संवेदनाका कारण केही समय बस्न दिए पनि २५ वर्ष पुग्दासम्म पनि उनीहरूले घरको अन्य विकल्प नखोजेर सरकारी भवनलाई नै नियन्त्रणमा राखेको कर्मचारीहरूले बताए ।

उक्त भवनमा उनकी पत्नि, छोराछोरी बसोबास गर्दै आएका छन् । छोराछोरीले बिहे गरेर विभिन्न ठाउँमा कामसमेत गर्दै आएका छन् । सरकारी भवनको अनाधिकृत प्रयोग हटाउन खोजे पनि यसअघि कसैले सकेको थिएन । पटक–पटक प्रयास गर्दा पनि कुनै राजनीतिक शक्तिको आडमा भवन नियन्त्रणमुक्त गर्न नसकिएको क्वारेन्टाइन स्रोतले बताएको छ ।

तर आइतबार भने भवन ७ दिनभित्र खाली गर्न लिखित सूचना टाँसिएपछि भवन परिवारबाट मुक्त हुने आशा पलाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार एकतले भवनमा उक्त परिवार अवैध रूपमा बस्दै आएका छन् र उनीहरू गैरनेपाली नागरिक हुन् । लामो समयदेखि सरकारी भवन प्रयोग गरिरहेका परिवारलाई हटाउने कार्यमा सहयोग गर्न भन्दै क्वारेन्टाइनले २०७८÷११÷२६ मा नै बाँके प्रशासनलाई लिखित अनुरोध गरेको थियो । विविध कारणले कार्यान्वयन प्रक्रियाले गति नलिएको ‘गुनासो’लाई सम्बेधन गर्ने प्रक्रिया प्रशासनले सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार सरकारी स्वामित्वको भवन वर्षौंदेखि अनधिकृत तवरले कब्जा गरिरहेका गैरनेपाली नागरिक परिवारलाई उक्त भवन खाली गरिदिन आइतबार ७ दिनको सूचना जारी गरिएको छ । आइतबार सुरक्षाकर्मीसहित पुगेको टोलीले उक्त अल्टिमेटम दिएको हो । पशु क्वारेन्टाइनका नाममा टाँस गरिएको सूचनामा २५ वर्षदेखि भवन अनधिकृतरूपमा प्रयोग भइरहेको भन्दै ७ दिनभित्र छाड्न निर्देशन दिइएको छ । उक्त घरमा बस्दै आइरहेकाले आफूहरूले लामो समयदेखि घरको रेखदेख गरेको भन्दै केही न केही न्याय गर्नुपर्ने बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० पुस १० गते मंगलबार