हार्दिक बधाई छ कबिरजी !




अर्जुन सुबेदी ।
कबिरजी हार्दिक बधाई छ । मानिस अनुभव सिकाइ विचारले मात्र खारिएर नहुने रहेछ । तपाईंले वैचारिक हिसाबले यो डिग्री उहिले प्राप्त गर्नुभएको थियो । तर यहाँ बुर्जुवा मापनको मूल्य छ, परिवर्तनको एक कमान्डर, परिवर्तनको एक गुरु, परिवर्तनको एउटा योद्धा तपाईंको मुहारमा आएको यो खुसीको अनेक कोणबाट विश्लेषण गरेँ । तपाईंमा यतिबेला मन भित्रैबाट आएको खुसी थाम्न नसकेर सुखका आँसु आएको तस्बिरमा देखेँ । तपाईंको जीवन संघर्ष उपलब्धिलाई खोतल्दै गएँ ।

तपाईंसँग ठ्याक्कै भेट भएको दिन त मलाई याद छैन । द्वन्द्वकालमा जनयुद्धका सञ्चार माध्यमबाट तपाईंको नाम सुन्ने गर्दथे । औपचारिक रूपमा २०६२÷६३ को जनआन्दोलन पछाडि नै हाम्रो भेटघाट र परिचय भएको भन्ने मेरो अनुमान छ । तपाईंसँग जतिबेला भेट भए केही कार्यक्रममा रहँदा तपाईंका विचार भावना सुन्दा तपाईंलाई खारिएको परिपक्व गुरुकै रूपमा पाएँ ।

विपन्न कमैया परिवारमा जन्मेर कक्षा १० पढ्दापढ्दै जनयुद्धमा होमिएको पात्र । जीवनमा केही गरौँ भन्ने हुटहुटी भएको पात्र । जनयुद्धले शान्ति प्रक्रियामा विश्राम लिएपछि एक कार्यक्रममा थारू पढेलेखेका छैनन् भन्ने कसैको आवाजले तपाईंको भित्री मनलाई घोचेपछि २०५१ सालमा छाडेको कक्षा १० को परीक्षामा २०६५ सालमा सामेल भएर एसएलसी पास गरेको पात्र । कतिपय तपाईंका सहकर्मीले पनि हिजो बुर्जुवा ठानिएको शिक्षा हासिल गर्दै छ भन्नेसम्म गाइँगुर्इं सुने पनि आज यो विभूषित भएपछि धेरैलाई थाहा भएको छ ।

तपाईंको यो सफल शैक्षिक यात्रालाई मैले धेरै कोणबाट नियालेँ । आर्थिक अवस्थाका कारण पढ्न नसकेर २०५१ सालमा ज्याला मजदुरी गर्न घरबाट हिँडेका दिन, बुर्जुवा शिक्षा र तत्कालीन राज्यसत्ता परिवर्तनका लागि जनयुद्धमा होमिएका दिन, यो बुर्जुवा शिक्षा काम छैन भन्दै परिवर्तनको लाममा उभिन संगठन बनाउँदै हिँडेका तपाईंका दिन धेरै कुराहरू केलाएँ । २०६२÷६३ को परिवर्तन हुँदा, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा हुँदा, तपाई नगर प्रमुख हुँदा आएका खुसीभन्दा हिजो औपचारिक शिक्षाबाट विभूषित हँुदा देखेको खुसीमा तुलना गरेँ ।

तपाईंले जीवनमा प्राप्त गरेका धेरै खुसीमध्ये यो खुसी नै उत्कृष्ट खुसी हो भन्ने कुरा तस्बिरले बोलिरहेको पाएँ । एउटा संयोग नै मान्नुपर्छ, हिजो अवस्था र व्यवस्थामा परिवर्तनको युद्धमा होमिँदा प्रचण्डकै मातहतमा होमिनुभएको थियो, आज समयक्रमले तिनै प्रचण्डको उपस्थितिमा तपाईं विभूषित हुनुभएको छ । कबिर दुर्गाबहादुर थारू अब तपाईं एउटा पाठशालामा रूपान्तरण हुनुभएको छ ।

अबका धेरै विद्यार्थीले तपाईंको बारेमा अनुसन्धानमूलक लेख (थेसिस) लेख्ने छन् । एउटा कमैयाको छोरो जनयुद्धमा कसरी होमियो ? एउटा सामान्य किसान परिवारको छोरा कसरी स्थानीय सरकार प्रमुख बन्यो ? बुर्जुवा शिक्षा बहिष्कारको लाममा लागेको व्यक्ति आज किन विभूषित हुन प¥यो ? एउटा राजनीतिकर्मीलाई औपचारिक शिक्षाको प्रमाणपत्र जरुरी छ कि छैन ? यावत् प्रश्नहरूको उत्तर अबको युवाहरूलाई अनुसन्धान गर्न म अनुरोध गर्दछु ।
यो समाजले पढेलेखेका राजनीतिज्ञको खोजी गरिरहेको छ ।

निर्वाचनमा हुँदा उम्मेदवारको शैक्षिक योग्यता तोकिनुपर्छ भन्ने आवाज उठिरहेको छ । तपाईं फेरि पनि राजनीतिक पात्र हो । हिजो अनुभव गरेको पात्र हुनुहुन्थ्यो आज अनुभव र पढेको पात्र बन्न सफल हुनुभएकोमा फेरि पनि हार्दिक बधाई छ कबिरजी । यो शैक्षिक यात्राको निरन्तरताको कामना ।

प्रकाशित मिति : २०८० पुस ३ गते मंगलबार