जाजरकोट भूकम्पः अत्यावश्यक औषधि र उद्धारका लागि हेलिकप्टर झिकाइँदै



भुइँचालोका घाइतेहरूको उपचार गरिँदै। तस्बिर स्रोत: सरोज वली

जाजरकोटमा शुक्रबार राति आएको भुइँचालोमा परेर घाइते भएकाहरूको उद्धार र अत्यावश्यक औषधिका लागि हेलिकप्टर ल्याउन समन्वय गरिएको छ। जिल्ला प्रशासन कार्याललयले शुक्रबार राति नै हेलिकप्टरका लागि संघीय सरकारसँग समन्वय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

उनले हेलिकप्टरका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय लगायतका निकायसँग मौखिक समन्वय भइसकेको बताए।

‘प्रधानमन्त्री कार्यालयलाई जानकारी गराइएको छ। अब गृह मन्त्रालयसहितका निकायलाई चिठी पठाउँदैछौं,’ प्रजिअ सुनारले भने, ‘यहाँका लागि औषधि ल्याउनु छ, आज राति वा भोलि बिहानसम्म हेलिकप्टर आउँछ।’

शुक्रबार रातिको भुइँचालोमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ। सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सिंहको मृत्यु भएको हो।

उपमेयर सिंहका काका जय सिंहले भुइँचालोमा परेर उनको मृत्यु भएको पुष्टि गरे। त्यस्तै, नलगाड नगरपालिकाका सूचना प्रविधि अधिकृत जुना शाहीले पनि उपमेयर सिंहको मृत्यु भएको बताइन्।

नलगाड नगरपालिका-८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।

पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले जाजरकोट र रूकुममा अहिलेसम्म कम्तिमा ३६ जनाको ज्यान गएको पुष्टि भएको छ। मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। जाजरकोटका विभिन्न क्षेत्रमा घरहरू भत्किएका छन् भने अधिकांश घर चर्किएका छन्।

रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ। त्यस्तै, जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ।

जाजरकोटको कुशे गाउँपालिका-७ धनरासेमा घरहरू भत्किँदा ७ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। ‘घरहरू धेरै भत्किएका छन्,’ उनले भने, ‘घाइतेहरूबारे पूर्ण जानकारी आएको छैन, हामी सूचना लिँदैछौं।’

जाजरकोटकै भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले विभिन्न वडामा घर भत्किँदा ९ जनाको मृत्यु भएको जानकारी दिए। ‘विभिन्न वडाबाट आएको विवरणअनुसार अहिलेसम्म ९ जनाको मृत्यु भएको छ, बाँकी विवरण संकलन हुँदैछ,’ उनले भने, ‘हामी उद्धारमा लागिरहेका छौं।’

सदरमुकाम खलंगामा रहेका जाजरकोट दरबारसहित थुप्रै पुराना घरमा क्षति पुगेको मेयर घर्तीले बताए। उनका अनुसार जाजरकोट जिल्ला अस्पताल घाइतेहरूले भरिएको छ।

तत्काल भेरी नगरपालिकाका वडा नम्बर ३ र ४ बाहेक अन्यत्र उद्धार टोली जान नसकेको र वडा नम्बर १ र २ मा पनि हताहतीको खबर आएको उनले जानकारी दिए। ‘हताहती निकै भएको देखिएको छ, अस्पताल पनि खचाखच भरिएको छ,’ उनले भने।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार