भूकम्पका घाइतेको उपचारका लागि बाँकेका ठूला अस्पताल तयारी अवस्थामा राखियो



बाँके ।

गएराति जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी गम्भीर घाइते भएकाहरूको उपचारका लागि बाँकेका ठूला अस्पताल तयारी अवस्थामा राखिएको छ ।

भूकम्पले जाजरकोट र रुकुम पश्चिम ठूलो मानवीय र भौतिक क्षती गरेको छ । बाँकेका भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगन्ज नर्सिङ होम लगायतका अस्पतालहरू घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ ।

भूकम्प प्रभावित क्षेत्रबाट गम्भीर घाइतेहरूलाई एम्बुलेन्स अन्य सवारी साधनमार्फत थप उपचारका लागि सुर्खेत र नेपालगन्ज पठाइएको छ ।
सोही कुरालाई ध्यानमा राखेर गम्भीर घाइतेहरूको उपचारका लागि अस्पताल, विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स लगायतका तयारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पोखरेल बिहानै भेरी अस्पतालमा पुगेर व्यवस्थापन समिति र अस्पताल प्रशासनसँग घाइतेहरूको उपचारको तयारीको बारेमा जानकारी समेत लिएका थिए ।

भेरीमा मात्रै गम्भीर घाइतेहरूको उपचार सम्भव नभए नेपालगन्ज नर्सिङ होम र मेडिकल कलेज कोहलपुरमा समेत उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

राँझास्थित नेपाली सेनाको अस्पताल, नेपालगन्जको प्रहरी अस्पताल र भेरी अस्पतालमा मात्रै घाइतेहरूको उपचारका लागि १ सय ५ वटा बेडहरू खाली गरिएको छ । बिरामीलाई आवश्यक रगतको व्यवस्था गर्नका लागि सुरक्षाकर्मी रक्तदानको लागि तयारी अवस्था राखिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार