रिगल नेपालगन्ज कारागार चलान



बाँके ।

जिल्ला प्रहरी कार्यालय बाँकेले चेतन मानन्धरको हत्याकाे अभियाेग लागेका योगराज ढकाल (रिगल)लाई बाँके जिल्ला अदालतलाई बुझाएको छ। उनलाई शुक्रबार बिहान १० बजे अदालतमा उपस्थित गराइएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण डाँगीका अनुसार उनलाई अदातलमा उपस्थित गराइएको छ।

बाँके जिल्ला अदालतका श्रेस्तेदार सरोज निधि वाग्लेले रिगललाई शुक्रवार बिहान पौने ११ बजेतिर नेपालगन्ज कारागार कार्यालयमा पठाइएको जानकारी दिए । सुरु बाँके जिल्ला अदालतले गरेको फैसला अनुसार नेपालगन्ज कारागार पठाइएको उनले बताए ।

‘हामीले उहाँलाई नेपालगन्ज कारागारमा पठाएका छौँ, कारागार व्यवस्थापन विभागले कसरी र कहाँ व्यवस्थापन गर्छ, त्यो उहाँहरूले गर्नुहुन्छ,’ वाग्लेले भने ।

सर्वोच्च अदालतले बिहीबार पक्राउ गर्न आदेश दिएका रिगललाई बाँके प्रहरीले त्यसको एक घण्टाभित्रै नेपालगन्ज सेतु विक चोकबाट पक्राउ गरेको थियो ।

संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्दै सर्वोच्च अदालतले बिहीबार नै रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको थियो। उनलाई तत्काल पक्राउ गर्न परमादेश जारी गरेको थियो।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १७ गते शुक्रबार