कोहलपुर अब खेलकुदको हब बन्छ : मुख्यमन्त्री चौधरी



कोहलपुर ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८० को बुधबार उद्घाटन गरेका छन् । कोहलपुरस्थित तेह्रबिघा खेल मैदानमा मुख्यमन्त्री चौधरीले मुख्यमन्त्री कोहलपुर गोल्ड कपको दोस्रो संस्करणको उद्घाटन गरेका हुन् । यसअघि २०७९ मा कोहलपुर गोल्ड कप सम्पन्न भएको थियो ।

उद््घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले कोहलपुरलाई खेलकुद क्षेत्रको हब बनाइने बताए । कोहलपुरलाई खेलकुद क्षेत्रको हब बनाउन अब कसैले रोक्न नसक्ने उनको भनाइ थियो । ‘कोहलपुरलाई खेलकुद क्षेत्रको हब बनाउन प्रदेश सरकार तयार छ,’ उनले भने, ‘त्यसका लागि प्रदेश सरकार स्थानीय सरकारहरूसँग सहकार्य गरेर अगाडि बढ्छ ।’

उनले मुख्यमन्त्री गोल्ड कपलाई निरन्तरता दिने कुरामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । ‘यहाँ क्रिकेट मैदानका कुरा उठेका छन्, प्याराफिटको कुरा उठेको छ,’ मुख्यमन्त्री चौधरीले भने, ‘आगामी दिनमा यी सबै काम गर्नका लागि प्रदेश सरकार स्थानीय सरकारसँग हातेमालो गर्न तयार छ ।’

उनले आगामी दिनमा रातो किताबमा नै बजेटको व्यवस्था गरेर गोल्ड कपलाई संस्थागत गर्ने प्रतिबद्धता जनाए ।
वर्तमानमा भइरहेको युवा पलायनलाई रोक्नका लागि पनि खेल क्षेत्रको विकास जरुरी रहेको उनको भनाइ छ । उनले व्यावसायिक खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए । ‘दुई दिन खेलेर पलायन हुने खेलाडी उत्पादन गर्ने होइन,’ उनले भने, ‘खेलेर नै खान सक्ने खेलाडी उत्पादन गर्नुपर्छ ।’

सबै पक्ष एकजुट भएर मात्र यस क्षेत्रलाई सबै कुरामा अगाडि बढाउन सकिने उनले धारणा राखे । एकता नै मुलुकको समृद्धिको आधार भएकाले सबै पक्ष मिलेर देश र आफ्नो ठाउँको विकास गर्नुपर्ने उनले बताए ।

त्यसैगरी, लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले मुख्यमन्त्री कोहलपुर गोल्ड कपका लागि यस वर्ष लुम्बिनी प्रदेश सरकारका तर्फबाट २५ लाख सहयोग गर्ने घोषणा गरे ।

टि–२० क्रिकेटमा नेपाली खेलाडीले कायम गरेको विश्व रेकर्ड स्मरण गर्दै उनले खेलाडीले देशको नाम राख्नसक्ने बताए । खेलकुद, कृषि तथा अन्य भौतिक विकासका क्षेत्रमा लुम्बिनी सरकारले राम्रा योजना अगाडि सारेर काम गरिरहेको उनले दाबी गरे । लुम्बिनी प्रदेशलाई देशकै नमुना प्रदेश बनाउने कुरामा मुख्यमन्त्री चौधरी प्रतिबद्ध रहेको पनि उनले बताए ।

त्यस्तै, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदसय सचिव जयप्रसाद भट्टराईले परिषद्ले मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८० का लागि २५ लाख रुपैयाँ विनियोजन गर्ने जानकारी दिँदै खेलकुदका लागि प्रदेश खेलकुद परिषद् सधैँभरि साथमा रहने प्रतिबद्धता जनाए ।

त्यसैगरी, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले मुख्यमन्त्री कोहलपुर गोल्ड कपको संस्थागत विकास गरिनुपर्नेमा जोड दिए । उनले आफ्नो पालामा गोल्ड कपको सुरुवात भएकोमा खुसी व्यक्त गर्दै यसपछि आउने स्थानीय नेतृत्वले पनि यसलाई निरन्तरता दिनुपर्ने
बताए ।

‘शौभाग्य हाम्रो पालामा कोहलपुर गोल्ड कप सुरु भयो,’ प्र्रमुख आचार्यले भने, ‘तर अब यसलाई संस्थागत गर्दै निरन्तरता दिनु हामी सबैको दायित्व हो । कुनै पनि नाममा यसलाई रोकिनु हुँदैन ।’

अघिल्लो पटकको गोल्ड कपमा देखिएको हजारौँको संख्यामा खेलप्रेमीहरूको उपस्थितिले पनि गोल्ड कपको निरन्तरताको आवश्यकतालाई पुष्टि गरेको बताउँदै प्रमुख आचार्यले त्यसले स्थानीय सरकारलाई केही चुनौती पनि थपेको बताए । मुख्यमन्त्री कोहलपुर गोल्ड कपलाई प्रदेश सरकार, प्रदेश खेलकुद परिषद्लगायतको आर्थिक, भौतिक तथा नैतिक सहयोग प्राप्त भएकोमा उनले खुसी व्यक्त गरे ।

मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८० का संयोजक रामबहादुर मल्ल र आयोजक संस्था रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै गोल्ड कप निरन्तरताका लागि सरोकारवालासँग आग्रह गरे ।

करिब दुई घन्टा ढिलो गरी सुरु भएको उद्घाटन समारोहमा प्रदेश मन्त्री, प्रदेश सांसद, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरू, बाँकेका सरकारी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १६ गते बिहीबार