सुरक्षाकर्मीले दुःख दिएपछि किसानलाई परिचयपत्र



बर्दिया ।

नेपाली सुरक्षाकर्मीको सास्तीबाट बच्न भारतसँग सीमा जोडिएका गुलरियाका किसानहरूलाई परिचयपत्र वितरण गर्न थालिएको छ ।

सुरक्षाकर्मीबाट सास्ती व्यहोरिरहेका सीमावर्ती नेपाली गाउँका किसानलाई पहिचानको लागि परिचयपत्र वितरण गर्न थालिएको हो ।
किसानहरूले नेपाली सुरक्षाकर्मीबाट धेरै सास्ती व्यहोर्न थालेपछि गुलरिया नगरपालिकाले कार्यविधि नै बनाएर ७ वटा वडाका किसानलाई अस्थायी किसान परिचयपत्र वितरण गर्न सुरु गरेको छ ।

आफ्नै खेतबारीमा उब्जाएको अन्नबाली बिक्री गर्न बजार लैजाँदा किसानलाई भन्सारलगायत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले दुःख दिने गरेका थिए । किसानहरूले नगरपालिकामा गुनासो गरेपछि नगरपालिकाले परिचयपत्र दिन थालेको हो । परिचयपत्र नहुँदा आफ्नै खेतमा उब्जाएको तरकारी बजारमा लैजान पनि वडा कार्यालयबाट सिफारिस बनाउनुपर्ने बाध्यतामा किसान थिए ।

शनिबार हाटबजार तरकारी बिक्री गर्न लैजाँदा वडाध्यक्षहरू नभेटिने त कहिले के हुने गर्दा किसान मर्का परेका थिए । वडा नम्बर १, ३, ७, ८, ९, १० र ११ मा अस्थायी किसान परिचयपत्र वितरण गर्ने कार्यक्रम सुरु गरेको गुलरिया नगरपालिका कृषि शाखाका प्रमुख महादेव शाहले जानकारी दिए ।

‘पाँच हजार किसान कार्ड छपाएर सम्बन्धित वडाहरूमा पठाएका छौं,’ उनले भने, ‘प्रक्रिया पु¥याएर वडाले किसान कार्ड वितरण गर्नेछ ।’ आइतबारदेखि किसान परिचयपत्र वितरण गर्न सुरु गरेको गुलरिया नगरपालिका–९ का वडाध्यक्ष हरिप्रसाद पासवानले जानकारी दिए ।

‘कार्ड भएपछि प्रहरी प्रशासनले अनावश्यक रूपमा किसानलाई परेसान गर्न पाउँदैनन्,’ उनले भने, ‘त्यसैगरी परिचयपत्र दिँदा किसानहरूको जग्गाको विवरण पनि लिने गरेका छौं ।’ वडा नम्बर ९ मा करिब १ हजार ६ सय किसान रहेका छन् । वडाले सबै किसानलाई किसान परिचयपत्र उपलब्ध गराउने योजना अगाडि सारेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १५ गते बुधबार