कुरुवा खोलामा पुल बनेपछि आवतजावतमा सहज



शिवु खनाल । दाङ ।

कुरुवा खोलामा पुल नहुँदा बर्खाको समयमा खोला घटेपछि वा खोला बढ्नुभन्दा पहिल्यै विद्यार्थी विद्यालयमा पुग्नुपर्ने बाध्यता थियोे । समयमै विद्यालय पुग्न सकिएन भने घर फर्किनुपर्ने वा जङ्गगलमै बस्नुपर्ने बाध्यता झेल्दै आएका थिए राजपुर गाउँपालिका–७ ताली र सुनपत्रीका विद्यार्थीहरूले ।

तर कुरुवा खोलामा स्टिल ट्रस पुल निर्माण भएपछि जुनसुकै समयमा आउजाउ गर्न विद्यार्थी तथा गाउँलेलाई सहज भएको छ । ‘पुल नहुँदा ताली र सुनपत्री आसपासका बालबालिका जोखिमपूर्ण रूपमा खोला तरेर विद्यालय जान बाध्य थिए,’ राजपुर गाउँपालिका–७ कुरूवा खोला कृष्ण प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर रानाले भने, ‘कुरुवाखोला हुँदै सीमावर्ती क्षेत्र जोड्ने पदमार्गमा पर्ने कुरुवाखोलामा पुल निर्माण भएपछि आउजाउ सहज र सुरक्षित भएको छ ।’

यसअघि सो ठाउँमा बर्खायाममा खोलामा बाढी आउँदा वारपार गर्न समस्या हुने गरेको थियो । २०४८ सालमा स्थापना भएको कृष्ण प्राविमा ६० जना विद्यार्थीमध्ये कुरुवा खोलादेखि पश्चिम ताली र सुनपत्रीखोला गाउँबाट करिब ३० जना विद्यार्थी अध्यनका लागि आउने गरेका छन् ।

कृष्ण प्राविमा अध्ययनरत विद्यार्थी खुमा वलीले कुरुवा खोलामा पुल नहुँदा विगतमा खोला तरेर विद्यालय आउने गरेको अनुभव सुनाइन् । ‘पानी परेपछि हामीलाई विद्यालय आउन जानै समस्या हुने गरेको थियो,’ उनले भनिन्, ‘पुल बनेपछि अहिले त्यो समस्या सदाका लागि अन्त्य भएको
छ ।’

राजपुर गाउँपालिका–७ कुरुवा खोलामा ट्रस पुल बनेपछि बालबालिकासँगै स्थानीयहरूलाई समेत आउजाउ गर्न सहज भएको छ । विगत लामो समयदेखि पुल नहुँदा समस्यामा रहेका सिक्टा, गल्छु, राताकास, कुरुवा, ताली, सुनपत्रीलगायतका स्थानीयलाई पुल बनेपछि आवत–जावतमा सहज भएको हो । गाउँबाट पूर्व–पश्चिम राजमार्ग आउन समस्या हँुदै आएको थियो ।

गाउँमा जान विभिन्न खहरे खोला पर्दछन् । पुल बनेपछि स्थानीय खुसी भएका छन् । कजवे बनाएर पनि बन्न सक्ने स्थिति नरहेको कुरूवा खोलामा पुल बनेपछि अहिले स्थानीयहरू पुलबाटै आवतजावत गर्ने गरेका छन् ।

पुल नहुँदा विगतमा कुरूवा खोला हँुदै सवारीसाधनबाट यात्रा गर्दा चिप्लो माटोका कारण दुर्घटनाको जोखिम पनि हुने गरेको थियोे । पुल निर्माणपछि रातबिरात अटोमा बिरामी बोकेर अस्पताल आउजाउ गर्न पनि सहज भएको स्थानीयको भनाइ छ । राजपुर गाउँपालिकाको १५ प्रतिशत, स्थानीयको दुई प्रतिशत जनश्रमदान र बाँकी संघीय सरकारको बजेटबाट पुल निर्माण सम्पन्न भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १५ गते बुधबार