प्रेमनगरको पूर्व–पश्चिम राजमार्ग हुँदै ओम शान्तिसम्मको सडक कालोपत्रे



बाँके ।

कोहलपुर नगरपालिका–२ प्रेमनगरको पूर्व–पश्चिम राजमार्ग हुँदै ओम शान्तिसम्मको सडक कालोपत्रे गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गदेखि ओम शान्तिसम्मको २ सय ३५ मिटर लामो सडक कालोपत्रे गरिएको वडाध्यक्ष हरि कठायतले जानकारी दिए ।
खुसी बिल्डरले ४२ लाख लागतमा कालोपत्रेको काम सम्पन्न गरेको थियो ।

‘दसैँ अगाडि नै निर्माण कम्पनीले कालोपत्रेको काम सम्पन्न गरेको थियो,’ वडाध्यक्ष कठायतले मिसन टुडेसँग भने, ‘सडक कालोपत्रे भएसँगै स्थानीयहरूले धुलाम्य सडकबाट मुक्ति पाएका छन् ।’

प्रि–मिक्स अस्पाल्ट कालोपत्रे गरिएको खुसी बिल्डरका सञ्चालक उमेश शाहीले जानकारी दिए । उनका अनुसार सडक कालोपत्रेसँगै सोही रकममा १०२ मिटर आरसीसी नाली समेत निर्माण गरिएको थियो ।

दसैँ अगाडि प्रि–मिक्स अस्पाल्ट कालोपत्रे गरिएको सडकको सोमबार गुणस्तर जाँचसमेत गरिएको वडाध्यक्ष कठायतले जानकारी दिए ।
कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीको नेतृत्वमा गएको प्राविधिकसहितको टोलीले प्रि–मिक्स अस्पाल्ट कालोपत्रे र नालीको गुणस्तर परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा सडक मापदण्डअनुसार नै कालोपत्रे भएको पाइएको प्राविधिकहरूले बताएको वडाध्यक्ष कठायतले दाबी गरे ।

सडकको अनुगमन तथा गुणस्तर जाँच गर्न प्राविधिकसहित नगर उपप्रमुख सुवेदी, पूर्वाधार समितिका संयोजक तथा सदस्यहरू, वडाध्यक्ष, निर्माण कम्पनीका प्रतिनिधिलगायत पुगेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १४ गते मंगलबार