ज्ञानमाया थापा । बैजनाथ ।
थारू समुदायमा रहेका बरघरहरूले पालिकाको न्यायिक समितिको काममा सहयोग पु¥याइरहेको बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायाले बताएकी छन् ।
सोमबार बैजनाथको टिटिहिरियामा ‘बरघर ऐन तथा समावेशिता’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले बरघरले न्यायिक समितिका काममा सहयोग पुगेको बताएकी हुन् ।
‘थारू समुदायमा रहनुभएका बरघरहरूले गर्दा हाम्रो पालिकामा रहेको न्यायिक समितिलाई काम गर्न धेरै सजिलो भएको छ,’ न्यायिक समितिकी संयोजकसमेत रहेकी उपाध्यक्ष रोकायाले भनिन्, ‘थारू समुदायमा हुने धेरै विवादहरू गाउँमै बरघरहरूले हल गर्ने भएकाले समितिसम्म उजुरीहरू कमै मात्रामा आउँछन् ।’
थारू समुदायबाट परेका उजुरीहरूमा बरघरबाटै समस्या समाधान हुने भएकाले न्यायिक समितिलाई काममा समेत सहज भइरहेको उनले बताइन् । बैजनाथ गाउँपालिकामा बरघर ऐन लागू गर्ने तयारी भइरहेको उपाध्यक्ष रोकायाले जानकारी दिइन् ।
‘बरघर ऐन लागू गर्न छलफल भइसकेको छ । बजेट पनि विनियोजन गरिएको छ,’ उनले भनिन्, ‘तर ऐन लागू भने हुन सकेको छैन छिट्टै बरघर ऐन लागू गर्नेछौँ ।’
बर्दियाको बारबर्दिया नगरपालिकाले मात्र बाँके, बर्दियामा बरघर ऐन लागू गरेको छ । थारू आयोगले ‘बरघर ऐन तथा समावेशिता’ बारेमा जानकारी दिनका लागि छलफल कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा ‘बरघर ऐन तथा समावेशिता’को विषयमा गहन रूपमा छलफल गरिएको थारू आयोगका सदस्य सुबोधसिंह थारूले जानकारी दिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, थारू समुदायका अगुवा, बडघरलगायतको उपस्थिति रहेको थियो ।