16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

नेपालगन्ज नाकाबाट दुई महिनामा ११ करोडको केरा आयात

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०८०  

नेपालगन्जलगायत यस क्षेत्रमै फलफूल उत्पादनको अवस्था न्यून छ । बाँके, बर्दिया, दाङ, कैलाली लगायतका जिल्लामा केरा उत्पादनका लागि कृषकहरू उत्साहित भए पनि भारतबाट आउने सस्तो मूल्यका केराका कारण मर्कामा छन् । गत साउन र भदौ महिनामा मात्रै नेपालगन्ज नाका भएर १० करोड ३१ लाख २५ हजार रुपैयाँ मूल्यबराबरको भारतीय केरा आयात भएको छ ।

नेपालगन्ज ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौ मसान्तसम्म नेपालगन्ज भन्सार नाका हुँदै १० करोड ३१ लाख २५ हजार रुपैयाँ मूल्यबराबरको केरा आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चाडपर्वको सिजन भएका कारण यी दुई महिनामा केरा आयात अत्यधिक हुने गरेको छ । यो अवधिमा २४ सय ६६ मेट्रिक टन केरा आयात भएको हो ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले यहाँबाट आयात भएको केरा देशका विभिन्न बजारमा पुग्ने गरेको बताए । स्थानीय बजार मात्र नभई बर्दिया, सुर्खेत, दाङ र नारायाणगढसम्म केरा खपत हुने गरेको छ ।

बजारमा दर्जनको हिसाबले बिक्री हुँदै आएको छ । नेपालगन्जलगायत यस क्षेत्रमै फलफूल उत्पादनको अवस्था न्यून छ । केरा उत्पादनका लागि कृषकहरू उत्साहित भए पनि भारतबाट आउने सस्तो मूल्यका केराका कारण उनीहरू टिक्न सकिरहेका छैनन् ।

स्थानीय उत्पादन बढाउन कुनै चासो नदिँदा केरामा मात्र यतिका रकम विदेशिएको छ । नेपालगन्ज नाका हुँदै अन्य फलफूलसमेत आयात हुँदै आएको नेपालगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ । स्वदेशी केरा उत्पादक कृषकहरूले भारतबाट आउने केरा तत्काल रोक्नुपर्ने माग राख्दै आएका छन् ।

भारतबाट विश्व व्यापार संगठनको मापदण्ड पूरा नगरी केरा आयात हुने गरेको कृषकहरूको भनाइ छ । यसबाट नेपाली केरा कृषकको करोडौँको नोक्सानी हुने अवस्था सिर्जना भएको छ ।

कृषिजन्य वस्तु उत्पादन गरी राज्यलाई आत्मनिर्भर बनाउने सरकारको लक्ष्य अनुरूप केरामा आत्मनिर्भरउन्मुख रहेको अवस्थामा निर्बाध रूपमा केरा आयात हुँदा व्यवसायीका साथै राज्यले समेत नोक्सानी व्यहोर्नुपरेको व्यवसायीहरूको भनाइ छ ।

निर्बाध रूपमा भारतबाट केरा आयात गरिएकाले जिल्लामा उत्पादन भएको केरा बिक्रीवितरण हुन नसक्दा कृषकहरूको लिएको ऋण डुब्ने खतरा रहेको कृषक अगुवा देवेन्द्र अधिकारीले बताए ।

बाँके, बर्दिया, कैलाली र कन्चनपुरका केरा कृषक र आश्रित परिवार बेरोजगारीको चपेटामा परी वैदेशिक रोजगारी जानुपर्ने सम्भावना बढेको उनले बताए । भारतबाट आयातीत केरा रोग तथा विषादी परीक्षण समेत नगरी भित्रिने गरेको उनको आरोप छ ।

बाँके र बर्दिया जिल्लामा ४ हजार कृषकले २ हजार ५ सय हेक्टरमा व्यावसायिक केरा खेती गरिरहेका छन् । यहाँ वार्षिक रूपमा झन्डै ९५ हजार मेट्रिकटन केरा उत्पादन हुने गरेको अधिकारीले बताए ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०८०     8:08:09 AM  |