बाँकेमा विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु



नेपालगन्ज ।

बाँकेमा नेपाल विद्युत् प्राधिकरणले महसुल नतिर्ने ग्राहकहरूको लाइन काट्न सुरु गरेको छ । अभियानकै रूपमा प्राधिकरणको नेपालगन्ज र कोहलपुर वितरण केन्द्रले आइतबारबाट विद्युत् लाइन काट्न सुरु गरेका हुन् ।

आइतबार पहिलो दिन नेपालगन्ज क्षेत्रमा मात्रै ११ लाख ८७ हजार ४ सय ६० रुपैयाँ बक्यौता रहेका १ सय ६३ जना ग्राहकको लाइन काटिएको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । यीमध्ये २१ जना ग्राहकको विद्युत् लाइन रिकनेक्सन गरिएको थियो । नेपालगन्ज वितरण केन्द्रका अनुसार त्यसबाट ८ लाख ७८ हजार रुपैयाँ बक्यौता असुली गरिएको थियो ।

यसअघि प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर ‘६० दिनभन्दा बढी समयदेखि विद्युत् महसुल भुक्तानी बाँकी बक्यौता रहेका ग्राहकहरूको कात्तिक १२ गतेदेखि अभियानको रूपमा विद्युत् लाइन काट्ने’ स्पष्ट रूपमा जानकारी गराएको थियो ।

प्राधिकरणले सर्वसाधारणका हकमा मात्रै नभई सरकारी कार्यालय र स्वास्थ्य चौकीहरूको पनि विगत लामो समयदेखि बाँकी बक्यौता देखिन आएकाले उल्लिखित सूचनालाई आधार मानेर भुक्तानी नगरे लाइन काट्ने चेतावनी दिएको थियो ।

तोकिएको समयभित्र बाँकी बक्यौता नतिरेका ग्राहकहरूको लाइन बाँकेमा आइतबारदेखि काट्न सुरु गरिएको हो । प्राधिकरणको नेपालगन्ज र कोहलपुर वितरण केन्द्रबाट प्राविधिकहरू बाँकी बक्यौता नतिरेका ग्राहकका घरमा पुगेर विद्युत् लाइन काट्न सुरु गरेका हुन् ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार बाँकेका ८ स्थानीय तहले २२ करोड ८५ लाख विद्युत् महसुल तिर्न बाँकी छ । ४५ दिनभित्र महसुल नतिरे कारबाही गर्ने चेतावनी दिएपछि स्थानीय तहका प्रमुखहरुरू अब के गर्ने भन्ने विषयमा आपसी छलफलमा जुटेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १३ गते सोमबार