नेपालगन्ज ।
वडा दसैँको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आउने पर्यटकहरूका कारण ठाकुरद्वारा क्षेत्रका होटल र होमस्टे भरिएका छन् । कोभिड, आर्थिक मन्दीका कारण खस्कँदो व्यापारबीच चाडपर्वले आशा जगाएको बताउँछन्, बर्दिया गैँडा क्याम्पसका सञ्चालक रामजी थापा । उनी भन्छन्, ‘दसैँका बेला आएका पर्यटकहरूले हामीलाई उत्साहित बनाएका छन् ।’
बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार शुक्रबारसम्म आन्तरिक र बाह्य गरी १ हजार ५ सय ८५ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । निकुञ्ज भ्रमण गर्न आउनेहरूमा नेपाल, भारतसहित सार्क राष्ट्रसहित अन्य देशका पर्यटक छन् । निकुञ्ज अवलोकन गर्नेहरूमा सार्क मुलुकका १७ जना र विदेशी ४ सय ४६ जना छन् भने स्वदेशी १ हजार १ सय २२ जना रहेका छन् ।
अघिल्लो वर्षको वडा दसैँ पर्वसहित एक महिनाको अवधिमा १ हजार ४ सय ८६ जनाले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गरेका थिए । पर्यटकको आगमन बढेसँगै निकुञ्जको राजस्वमा समेत वृद्धि भएको छ ।
प्रायजसो पर्यटकहरू निकुञ्जभित्र पाटेबाघ देख्न पाएपछि खुसी भएका छन् । इजरायल, फ्रान्स, अमेरिका, भारतलगायतका देशबाट बर्दिया निकुञ्ज अवलोकनका लागि आएका पर्यटक बाघ देख्न पाएपछि दङ्ग छन् ।
बर्दिया निकुञ्ज अवलोकनका लागि आएका पर्यटकले नेपालको चितवनमा मात्र बाघ देख्न पाइने सुने पनि त्यहाँ भन्दा बर्दिया निकुञ्जमा आफूहरूले दिनहुँ बाघ देखेको बताएका छन् । दिनहुँ बाघ देख्न पाएकै कारण कतिपय पर्यटक अन्त घुम्न जान छाडेर बर्दियामै दिन बिताउन थालेको पर्यटन क्षेत्रमा लामो समय लेख्दै आएका बर्दियाका पत्रकार भावुक योगी बताउँछन् ।
उनका अनुसार कोभिडका कारण थलिएको पर्यटकीय गतिविधि बाघलगायतका वन्यजन्तु अवलोकन गर्न पाइने भएकाले बर्दियामा पर्यटकीय गतिविधि बढेको हो । बाघ लगायत अन्य वन्यजन्तु अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकहरू बर्दिया निकुञ्ज अवलोकनका लागि आउने क्रम बढ्न थालेकोमा पर्यटन व्यवसायीहरू पनि खुसी भएको पर्यटन व्यवसायी पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस्