19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

मुगुमा आमासहित तीन छोराछोरीको हत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०८०  

सुर्खेत।

मुगुमा फेला परेको तीन बालबालिकासहित चार जनाको शव एउटै परिवारका आमा र छोराछोरीको भएको खुलेको छ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार छायानाथ रारा नगरपालिका-६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १ वर्षीया छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको बताएका हुन् ।

शुक्रबार बिहान ११ बजे खबर पाउन साथ प्रहरी त्यहाँ पुगेको थियो । थापाका अनुसार मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते बिहान दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए ।

८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको अनुमान गरिएको छ । ‘९ गते बिहानैदेखि घर बाहिर ताला लगाएको देखिपछि छिमेकीहरूले बिहानै सिमी टिप्न खेत गरा तिर गएका होलान् सोचेका रहेछन्,’ थापाले भने,’ आज बिहानसम्म पनि घरमा ताला लगाएको देखे ।

स्थानीले फेरी माइतीतिर गएको हो कि भनेर फोन गरेका थिए । तर माइतीबाट ८ गते नै फर्किएको बताएपछि बिहान १० बजेतिर स्थानीयले ढोकाको ताला तोडेका थिए । भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका थिए ।’

मृतकमा श्रीमान् वैदेशिक रोजगारीमा रहेको थापाले बताए । कसले किन र के कारण हत्या गरेको हो भन्ने विषयमा थप अनुसन्धानपछि मात्र थाहा हुने थापाको भनाइ छ। अनुसन्धानका लागि कुकुरसम्म झिकाउने प्रहरीले तयारी गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०८०     7:00:03 PM  |