20 May 2024  |   सोमवार, जेष्ठ ७, २०८१

बालकको उद्धार गर्न जाँदा कोहलपुरका डिएसपी तिवारीमाथि चक्कु प्रहार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०८०  

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारी  । File Photo

बाँके ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन्।

कोहलपुर नगरपालिका–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डिएसपी तिवारीमाथि थापाले चक्कुको झटारो हानेर घाइते बनाएका हुन् ।

चक्कु लागेपछि डिएसपी तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए।

उनका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए। सो सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा डिएसपी तिवारीलाई लागेको हो ।

चक्कुको झटारोबाट डिएसपी तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको डिएसपी डाँगीले जानकारी दिए । कोहलपुरका डिएसपी तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि डिएसपी तिवारीमाथि नै चक्कु प्रहार गरेका थिए।

त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो । गएराति करिब ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए। परिवारको भनाइलाई उद्धृत गर्दै डिएसपी डाँगीले थापाको मानसिक सन्तुलन नभएको जानकारी दिए ।

चक्कु प्रहार गर्ने थापालाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०८०     12:28:52 PM  |