4 March 2024  |   सोमवार, फाल्गुन २१, २०८०

नढोगेको निहुँमा युवकको हत्या गर्ने दुई जना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०८०  

काठमाडौं ।

ढोग नगरेको भन्दै कुटपिट गरी हत्या गरेको आरोपमा सल्यान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सल्यान बागचौर नगरपालिका-७ स्यालागाउँका २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

कुटपिट गरी फरार भएका सन्तोषलाई दाङको तुलसीपुर उपमहानगरपालिका-१२ रझेना र केशरलाई बागचौर नगरपालिका-९ मौरीघारे परिलेखमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।

कात्तिक ४ गते दिउँसो बागचौर नगरपालिका-७ स्थित उपकार आधारभूत विद्यालयको खेल मैदानमा भलिबल खेल्न जम्मा भइरहेको अवस्थामा केशर ओली र शंकर ओलीले मादक पदार्थ सेवन गरी खुट्टा ढोग्न लगाउँदा घनश्यामले नमानेपछि मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

घाइते घनश्यामको भारतमा उपचारका क्रममा बुधबार ८ गते मृत्यु भएको थियो । दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०८०     8:36:12 AM  |