बाँके ।
सद्भावको सहरको रुपमा परिचित बाँकेको नेपालगन्जमा बडादसैंको दिन शुभसाइतमा मुस्लिम समुदायका अगुवाहरुले पनि मान्यजनबाट टीका जमरा थापेर दसैं मनाएका छन् ।
मुस्लिमको चाडपर्वमा हिन्दुहरू रमाउने र हिन्दुहरूको चाडपर्वमा मुस्लिमहरू रमाउने परम्परालाई कायम राख्दै मुस्लिम अगुवाहरूले मंगलबार दसैंको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिएका हुन् ।
यहाँका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी (चुन्ना)ले हिन्दु समुदायका मान्यजनबाट दसैंको टीका थापेका थिए ।
उनले दसैं, तिहार, रक्षाबन्धन, होली, दीपावलीजस्ता चाडपर्वहरु सधैं यसैगरी मिलेर मनाउने गरेको बताए । ‘मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दु समुदायका मान्यजनलाई बोलाएर उहाँहरूसँग रमाउने गरेको छुँ’ उनले भने, ‘हिन्दु र मुस्लिम समुदायले वर्षौदेखि सँगै मिलेर एकआपसमा दुबै समुदायका चाडपर्व मनाउँदै आएका छौं ।’
सोही प्रकारले बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्दिकीले पनि दसैंमा हिन्दु समुदायका आफन्त र मान्यजनबाट टीका थापेका थिए भने उनले पनि आफुभन्दा सानालाई टीका लगाइदिएका थिए ।
वर्षौदेखि आफूले दुबै समुदायका चाडपर्वमा रमाउनेगरेको जनाउँदै उनले एकअर्कासँग मिलेर सँगै मनाउने गरेको बताए । हिन्दुले मुस्लिमको चाडमा सहभागी हुने र मुस्लिमले हिन्दुको चाडपर्वमा सहभागी हुने यहाँको परम्परा बनिसकेको अगुवा सिद्दिकीको भनाइ छ ।
उनले यहाँ बर्षौदेखि दुबै समुदाय अति नै राम्रोसँग मिलेर बसेको जनाउँदै दुबै समुदायवीच निकै राम्रो सम्बन्ध र घनिष्टता रहेको बताए । सोही प्रकारले अर्का मुस्लिम अगुवा रहमान मियाँले पनि मान्यजनबाट दसैंमा टीका जमरा लगाएर आशीर्वाद लिएको बताए ।
प्रतिक्रिया दिनुहोस्