नेपालीहरूले बडादसैँ मनाइरहेका छन् । दसैँमा मानिसहरूले मासुको सेवनलाई बढाउने गर्छन् । यो उल्लासको समयमा नेपालीहरू आफन्तहरूसँग भेटघाटमा रमाउँछन् भने खानपानमा पनि उस्तै रमाउँछन् ।
प्रा.डा उमा कोइराला ।
पोषणविद् ।
नेपालीहरूले बडादसैँ मनाइरहेका छन् । दसैँमा मानिसहरूले मासुको सेवनलाई बढाउने गर्छन् । यो उल्लासको समयमा नेपालीहरू आफन्तहरूसँग भेटघाटमा रमाउँछन् भने खानपानमा पनि उस्तै रमाउँछन् ।
कति कुरा खाने र कति कुरा नखाने भन्ने कुरामा नेपालीहरूले चाडबाडको बेलामा त्यति ख्याल गरेका हुँदैनन् । विशेष गरेर मासुजन्य वस्तु र चिल्लो पदार्थ अधिकमात्रामा खाने गरिन्छ । तर त्यसका लागि केकस्ता समाधानहरू गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।
चाडबाडमा हामी चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउँछौँ भने मासुजन्य कुरा पनि उत्तिकै मात्रामा खान्छौँ । तर, तिनीहरूले मात्रा नमिलाई खाँदा शरीरलाई हानि गर्ने गर्दछ ।
यसरी खाने विभिन्न पदार्थलाई पचाउन ती खानेकुराका साथमा हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रूपमा खानुपर्छ ।
बढी चिल्लो, अमिलो र पिरो खानेकुरा सकेसम्म नखाँदा नै उत्तम हुन्छ, खानै परेको खण्डमा आफूले पचाउन सक्ने तरिकाले मात्र खानुपर्छ । यस्ता विविध प्रकारका खानेकुराले ग्यास्ट्रिक बढाउने, टन्सिल हुने, पेट फुल्नेलगायतका समस्या देखिन सक्छ । त्यसका साथै कोलस्ट्रोल बढाउने र बोसोको मात्रा बढी हुने गर्दछ, जसका कारण अपच हुने, कब्जियत, फुड प्वाइजनजस्ता समस्या देखापर्छन् ।
घरमै तयार गरिएको ताजा जिरा, धनिया, लसुन, प्याजलगायतका मसला बनाइएको छ भने त्यसले त्यति असर गर्दैन । तर, बजारमा पाइने रेडिमेट मसलाहरूको शुद्धतामा ग्यारेन्टी गर्न नसकिने हुँदा तिनीहरूले शरीरमा मन्द विषको काम गर्छन्, त्यसैले घरमै तयार गरेको मसला खानु राम्रो मानिन्छ । चाडबाड भनेर जे पायो त्यही खाने प्रचलन रहेको छ, त्यस्ता चिजले शरीरलाई राम्रो गर्दैन ।
कतिपयमा काँचो मासु नै खाने बानी हुन्छ । त्यस्तो मासु खाँदा फुड प्वाइजनको सम्भावना बढी हुन्छ । त्यस्तो मासु खान मन परे उसिनेर खाँदा राम्रो मानिन्छ । त्यसका साथै बासी खानेकुरा खानु हुँदैन । बासी मासु खायो भने त्यसले फुड प्वाइजनको सम्भावना बढी हुन्छ । ताजा मासु खानु सबैभन्दा उपयुक्त हुन्छ । बासी मासु खाइन्छ भने अलिकति बढी तेल र मसलामा मासु राखेर मासुमा भएको पानी सुकाउने गर्नुपर्छ । र, पातलो कपडाले छोपेर नगुम्सिने गरी सुरक्षित साथ राखेर खानुपर्छ ।
एउटा जवान मान्छेले एक दिनमा २ सय ५० ग्रामसम्म मासु खानु राम्रो हुन्छ । विश्व स्वास्थ्य संगठनले १ केजी तौल भएको मानिसलाई १ ग्राम प्रोटिन आवश्यक हुन्छ भनेको छ । २ सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखि ५५ ग्रामसम्म प्रोटिन हुने हुँदा दैनिक त्यति मासु खाँदा फाइदाजनक नै हुन्छ । मधुमेह, उच्च रक्तचाप, किड्नीमा समस्या भएका र कोलस्ट्रोल बढी भएका बिरामीले बोसो नभएको मासुलाई उसिनेर मात्र खानुपर्छ ।
उसिनेको मासुमा हल्का जिराको धुलो र कागती राखेर खाँदा राम्रो र स्वादिष्ट हुन्छ । मासुमा धेरै बोसो हुने हुँदा त्यसले कोलस्ट्रोर बढाउने हुँदा अपच हुने, फुड प्वाइजन पनि हुन सक्छ । मासुलगायत दसैँमा प्रोटिनयुक्त खानेकुरा धेरै खाइने हुँदा मोटोपन बढ्ने, ग्यास्ट्रिक बढ्ने समस्या हुनु सामान्य हो ।
मासु पचाउन दैनिक व्यायाम गर्ने, नियमित रूपमा कम्तीमा ४५ मिनेटदेखि एक घन्टासम्म हिँड्दा उत्तम हुन्छ । साथै बढी खाएको समयमा असहज भएमा कागती पानी, ज्वानोको झोल खाँदा फाइदा हुन्छ ।