10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

बाँसगढीमा चोक नामकरण गर्ने होडबाजी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक ४, २०८०  

मधुर पौडेल । बाँसगढी ।

बर्दियाको बाँसगढीभित्र पर्ने पूर्वपश्चिम राजमार्गको व्यस्त सडकका एक किलोमिटरभित्र चारवटा चोकको नामकरण गरिएको छ । सम्भवतः छोटो दूरीमा यतिका चोक भएको ठाउँ बाँसगढी नै होला † यहाँ चोकैपिच्छे अनेक नाम राख्ने प्रतिस्पर्धा नै भएको देखिन्छ । करिब एक साताभित्रै यहाँ तीनवटा चोक थपिएका छन् ।

निवर्तमान नगर प्रमुख शालिकराम अधिकारीको पालामा बाँसगढीको मुख्य चोकको नाम किसान चोक राखिएको थियो । किसानले हलो बोकेको प्रतिमासहितको चोक धेरैको नजरमा परेको थियो ।

करिब एक साताअघि किसानचोकको करिब एक सय पचास मिटरको दूरीमा पूर्व रहेको चोकलाई ॐ चोक नामकरण गरियो । यो चोकको नामकरण गरिएलगत्तै बाँसगढीमा चोकको नामकरण गर्ने क्रम बढेको छ ।

किसान चोकदेखि पश्चिम करिब डेढ सय मिटरकै दूरीमा चलनचल्तीका रूपमा खानेपानी चोक, खनालचोकका नामले चिनिएको ठाउँलाई हाल आएर बाँसगढीचोकमा रुपान्तरण गरिएको छ ।

त्यस्तै ॐ चोकको सय डेढ सय मिटरको दूरीमा पूर्वतिर रहेको चोक (जहाँ पुरानो पेट्रोल पम्प रहेको थियो)को स्थानलाई बुद्ध चोक नामकरण गरिएको छ ।

यसरी बाँसगढीमा एक सातामै तीनवटा चोक निर्माण भएका छन् । चोकवरपरका घरबेटीहरूको सक्रियतामा यस्ता चोकको नामकरण गर्ने गरिएको पाइएको छ । अहिले बाँसगढीमा चोकको नामकरणका विषयमा पक्ष–विपक्षमा चर्चा–परिचर्चा भइरहेका छन् । सामाजिक सञ्जालमा आ–आफ्ना घरनजिकका चोकको प्रचार प्रसार गर्ने काम भइरहेको छ ।

चोकको नामकरण गर्नेहरूले ठाउँको पहिचानका लागि भए पनि नाम राख्नुपर्ने आवाज बताउँदै आएका छन् । तर बाँसगढी नगरपालिका भने यस विषयमा मौन छ । ऐतिहासिक तथ्यविपरीत सडकैपिच्छे चोकको नामकरण गर्न नहुने आम सर्वसाधारणको भनाइ छ । चोकको नाम राख्ने विषयमा नियमन हुनुपर्ने उनीहरूले आवाज उठाइरहेका छन् ।

नगरपालिकाले त्यस सम्बन्धमा भूमिका खेल्नुपर्नेमा उनीहरूको भनाइ छ । बाँसगढीका नगर प्रमुख खड्कबहादुर खड्काले चोकको नामकरणका विषयमा आफूहरूको ध्यानार्कषण भएको बताउँदै चाँडै यस विषयमा धारणा सार्वजनिक गर्ने बताए पनि नगरपालिकाले चोक नामकरणका विषयमा कुनै संस्थागत निर्णय भने गरेको छैन । आ–आफ्ना घरनजिकको चोकको नामकरण गर्न अन्य कतिपय व्यक्तिसमेत जुर्मुराउन थालेको पाइएको छ ।

प्रकाशित मितिः शनिबार, कार्तिक ४, २०८०     10:33:13 AM  |