नेपालगन्ज ।
‘६८औं प्रहरी दिवस २०८०’ जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना मंगलबार विभिन्न कार्यक्रम गरिएको छ ।
बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सो अवसरमा पूर्वप्रहरी, अशक्त अवकाश प्राप्त प्रहरी, अमर प्रहरी परिवार तथा सञ्चारकर्मी, नागरिक समाज, सशस्त्र प्रहरी बलका उपरीक्षक रमेश विक्रम शाही, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख मोहन कुँवरलगायतको उपस्थिति थियो ।
प्रहरी नायब उपरीक्षक नारायण डाँगीले प्रहरी महानिरीक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त शुभकामना सन्देश वाचन गरेका थिए । सो कार्यक्रममा पूर्व प्रहरी कर्मचारीको तर्फबाट पूर्व प्रहरी नायब उपरीक्षक शशिधर अधिकारी, अमर प्रहरी परिवारको तर्फबाट एकमाया विश्वकर्मालगायतले शुभकामना व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा ज्येष्ठ पूर्वप्रहरीलाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकबाट प्राप्त कदर पत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो । साथै ६८औं प्रहरी दिवस २०८० को अवसरमा विभिन्न विधामा सञ्चालन गरिएको ब्याडमिन्टन, टेबल टेनिस प्रतियोगिता सञ्चालन गरिएकोमा खेलकुदमा प्रथम, द्वितीय हुनेलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रजिअ पोखरेलले नेपाल प्रहरीको गर्विलो इतिहास र जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेको त्यस आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने विश्वाससमेत व्यक्त गरे ।
कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरी वीर तथा अमर प्रहरीले देखाएको मार्गमा सधैँ अडिग भएर लाग्ने र जनअपेक्षा पूरा गर्न सदैव तत्पर रहेको बताए । प्रहरी निरीक्षक महेश्वरी विष्टले सञ्चालन गरेको उक्त कार्यक्रम समापनपश्चात दिवा खाना तथा प्रहरी पुनर्मिलन कार्यक्रम रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्