खजुरामा स्कुल बस पल्टिँदा एकको मृत्यु, २५ बढी घाइते



बाँके ।

नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरामा स्कुल बस दुर्घटना हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ । खजुरास्थित दीपक बोर्डिङ स्कुलको ना४ख ६५१ नम्बरको बस सोही ठाउँकै सिमलघारी जाने क्रममा सोमबार दुर्घटना भएको छ ।

४० जना विद्यार्थी बोकेर खजुरा स्कुलदेखि सिमलघारी गइरहेको बस पल्टिदा १२ वर्षीय दीप नेपालीको मृत्यु भएको बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार स्कुल बस सडकदेखि १५ मिटर तल खसेको थियो । खजुरा गाउँपालिका– ५ जेठान नालानजिकै भएको दुर्घटनामा अन्य २५ विद्यार्थी घाइते भएको इलाका प्रहरी कार्यालय धनौली खजुराले जनाएको छ ।

उनीहरूको नेपालगन्ज र खजुराका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । दुर्घटना किन र कसरी भयो भन्नेबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धनौली खजुराका इन्चार्ज प्रहरी निरीक्षक अशोक मल्लले जानकारी दिए ।

निर्माणाधीन सडकका कारण स्कुल बस दुर्घटना भएको हुनसक्ने आँकलन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज ३० गते मंगलबार