11 September 2024  |   बिहिबार, भदौ २७, २०८१

लगानी संवाद, आइसिटी स्टार्टअप तथा इनोभेसन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २८, २०८०  

नेत्र सुवेदी ‘प्रयास’ । 

भेला हुनु, मेला आयोजना गर्नु, हाटबजार सञ्चालन हुनु, नयाँ–नयाँ विषयमा सोधपुछ गरी जानकारी हासिल हुनु, नवप्रवर्तनका लागि प्रोत्साहन गरिनु यी सबै राम्रा काम हुन् । समय परिवर्तनसँगै यस्ता मेला वा संवादहरूमा नयाँ र सिर्जनशील विषयहरू पनि किन्न, सुन्न, जान्न पाइन्छ ।

स्थानीय तहहरूले आफ्नो बजेट आफैँ निर्माण गर्ने क्रम सुरु भएसँगै कतिपय स्थानीय तहले लगानी सम्मेलन गर्ने भनेर बजेटमै उल्लेख गरे ।
तिलोत्तमालगायत केही पालिकाले सम्मेलन पनि आयोजना गरे । केही वर्षयता सूचना तथा सञ्चारसँग सम्बन्धित प्रणाली, आईसिटी प्रयोग गरी हुने सेवासँग जोडिएका प्रडक्टहरू जनसमक्ष पु¥याउने कम्पनी तथा संस्थाहरूको संख्या बढिरहेको छ भने सूचना तथा सञ्चार प्रविधिसँग कुनै न कुनै रूपमा आबद्ध भएर स्वरोजगारी तथा उद्यम सञ्चालन गर्ने युवाहरूको संख्या पनि बढ्दो क्रममा छ ।

नेत्र सुवेदी ‘प्रयास’ । 

निजी तवरबाट सूचना प्रविधि क्षेत्रलाई अघि बढाउन क्रियाशील कम्प्युटर एसोसिएसन नेपालले हरेक वर्ष क्यान इन्फोटेक मेला प्रारम्भ गरेकै २८ वर्ष भइसक्यो । आईसिटी अवार्डका आधारमा आईसिटी फाउन्डेसनले पनि सूचना प्रविधिसँग सम्बन्धित व्यवसायी, उद्यमी र स्टार्टअपहरूको वार्षिक भेला विगत आठ वर्षदेखि गर्दै आइरहेको छ । उद्योग वाणिज्य महासंघलगायतका निजी क्षेत्रका संस्थाहरूले पनि सूचना प्रविधिलाई महत्वका साथ अगाडि बढाएका छन् ।

द ब्रिटिस कलेज, सफ्टारिका कलेजले पनि यसै वर्ष इनोभेसन र दिगो विकास लक्ष्यलाई समेत जोडेर स्टार्टअप फेस्ट आयोजना गरेका थिए । विसं २०७९ असार ४ र ५ गते हुवावेलगायतका कम्पनीको प्रायोजनमा डिजिटल नेपाल कन्क्लेभ सञ्चालन भएको थियो । नेपालको डिजिटल इकोसिस्टम निर्माणका लागि अघि बढाउनुपर्ने विभिन्न विषयमा देशविदेशका विज्ञहरूको प्रस्तुति एवम् छलफलपछि निष्कर्षहरू तयार गरिएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ सय ३४ स्थानीय तहलाई आधार मानेर सात प्रदेशका ५० सूचकका आधारमा गरेको सूचना प्रविधि सक्षमताको लेखाजोखा मूल्यांकनको नतिजाले २ सय २९ वटा स्थानीय तहमात्र औसत अंक ल्याउन सफल देखिए । यसबाट स्थानीय तहले सूचना प्रविधि प्रयोग सम्बन्धमा आधारभूत तहमै काम गर्न बाँकी रहेको देखाउँछ ।

सूचना प्रविधि र इकमर्स

सूचना प्रविधिमा आधारित उद्यम तथा स्वरोजगारसम्बन्धी सीप, आइडिया, व्यवसाय एवम् आर्जनको विषय संसारभर नै विस्तारका क्रममा रहेको र अर्थतन्त्रमा उदीयमान क्षेत्रका रूपमा लिइएको छ । सूचना प्रविधिमा विकसित पछिल्ला उपकरण र प्रणालीहरूले सम्भव तुल्याएका सुविधाहरू सार्वजनिक क्षेत्र, निजी क्षेत्र र अन्य सबै संगठित क्षेत्र र सर्वसाधारण व्यक्तिले समेत लिन सम्भव भएको छ ।

प्रयोगमा आइरहेका प्रणालीमा पनि समयक्रमसँगै सुधार वा परिवर्तन अपेक्षित हुन्छ । जति पछाडि उति कम लागत, बढी क्षमता र सानो आकार वा स्पेस लिने गरी सूचना प्रविधि विकसित भइरहेको छ । सूचना प्रविधि र सञ्चार आपसमा अन्तरसम्बन्धित समेत भएको हुँदा सूचना तथा सञ्चार प्रविधि अर्थात आईसिटी भनेर चिन्ने गरिन्छ ।

नवीन प्रविधिले गर्दा जुनसुकै बखत सरकार–नागरिक र बजार–ग्राहकबीच अन्तरक्रिया सम्भव हुँदै गएको छ । यस्तो अवस्थामा कुनै पनि सरकार वा कुनै पनि विकासको पात्रले सूचना प्रविधिबाट अनदेखा भएर अगाडि बढ्न असम्भव छ । के कति निजी क्षेत्रमैत्री हुने ?

के कति युवा उद्यमीमैत्री हुने र सार्वजनिक, निजी र सामुदायिक क्षेत्रबीच आपसी अन्तरक्रिया बढाउँदै सूचना तथा सञ्चार प्रविधिलाई के कसरी उद्यम विकास, रोजगारी र आयसँग जोड्ने भन्ने विषय अहिलेको एक महत्वपूर्ण सरोकारको सबाल भएको छ । इकमर्सलाई पनि प्रस्ट रूपमा बिना झन्झट कानुनको दायरामा ल्याई औपचारिक बजारमा प्रवेश गराउनुपर्नेछ ।

सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा सरकारी क्षेत्र

वर्तमान संविधान र आवधिक योजनाले सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोगतर्फ संकेत गरिएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा अन्य कुराको अतिरिक्त डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लगिने, डिजिटल साक्षरता बढाइ नागरिक एपको प्रयोग र पहुँच विस्तार गरिने उल्लेख छ । दूरसञ्चार पूर्वाधारअन्तर्गत ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तारको विषय परेको छ भने साइबर सुरक्षा र विद्युतीय तथ्यांकको सुरक्षाका विषयहरू पनि परेका छन् ।

साथै इकमर्सको माध्यमबाट हुने नेपाली वस्तु तथा सेवाको व्यापार प्रवद्र्धन र नियमन गर्न कानुनी व्यवस्था गरिने उल्लेख छ । चौथो पुस्ताको औद्योगीकरण अवधारणाको आन्तरिकीकरणका लागि प्रविधि सहयोग, सचेतना र तालिमका कार्यक्रम सञ्चालन गरिने विषय समेत बजेटमा परेको छ ।

यसअघिका वर्षहरूदेखि नै स्मार्टअपका लागि सक्रिय व्यवसायीलाई अनुदानको व्यवस्था गर्ने भनिएको र अनुदान वितरणका लागि कार्यविधिको तयारी भइरहेको प्रसंग बेलाबखत सुन्ने गरिएको छ । सार्वजनिक निकायमा विनियोजन भएको रकम खर्च गर्न निश्चित विधि अनुशरण गर्नुपर्ने हुँदा निजी क्षेत्र वा संस्थाले जस्तो सरल र छिटो ढंगले कार्यसम्पादन हुन गाह्रो छ । तथापि आईसिटी सेवा र बिजिनेस प्रोसेस आउटसोर्सिङलाई रोजगारी तथा आम्दानीको क्षेत्रका रूपमा चित्रित गर्दै आएको देखिन्छ ।

लगानी संवाद

गत वर्षमात्र पनि लेखक स्वयम् लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयमा कार्यरत रहँदा प्रदेशका पश्चिमतर्फका जिल्लालाई समेटेर नेपालगन्ज उद्योग वाणिज्य संघको हलमा लुम्बिनी लगानी संवाद सञ्चालन हुँदा ३० वटाभन्दा बढी साना तथा मझौला उद्यमी व्यवसायी तथा लगानीसम्बन्धी सरोकारवाला तथा विज्ञ सहभागी रहेको तथा उद्यमी व्यवसायीहरूलाई सरकारको तर्फबाट हुनुपर्ने साथ र सहयोगका साथै समग्र इकोसिस्टम निर्माणका लागि महत्वपूर्ण सुझाव प्राप्त भएका थिए ।

देशविदेशका ठूला कम्पनीको जमघट गर्ने, लगानीको घोषणा पनि गर्ने तर सम्झौता एवम् लगानी शून्यप्रायः हुने तीतो यथार्थका बीच स्थानीय स्तरमा क्रियाशील उद्यमी व्यवसायीकै मर्का सुनेर समाधानको पहल हुनु सबै प्रदेश तथा स्थानीय तहका लागि एउटा उपयोगी कार्यनीति हुन सक्ने लेखकको ठम्याइ रहेको छ ।

स्टार्टअप एन्ड आइडिया फेस्ट २०२३

लिभिङ विथ आईसिटी र आईसिटी फाउन्डेसन नेपालले हरेक वर्ष आयोजना गर्ने आईसिटी अवार्डको प्रि–इभेन्ट क्याम्पियनका रूपमा काठमाडौँको थापागाउँस्थित बानेश्वर बैंक्वटमा यही असोज १९ र २० गते स्टार्टअप एन्ड आइडिया फेस्ट आयोजना गरेको थियो ।

सातै प्रदेशका स्टार्टअप, आइडिया र इनोभेसनमा काम गर्ने युवासँग प्रदेश प्रदेशमा अन्तरक्रिया तथा छलफल गरेर काठमाडौँमा दुईदिने कार्यक्रम गरिएको हो । उक्त स्टार्टअप एन्ड आइडिया फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप आईडिया र इनोभेसनको सहभागिता थियो । कार्यक्रम बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो ।

सो प्रदर्शनीमा स्कुल कलेजका क्रियाकलापयुक्त स्टलहरू, प्रदेशगत रूपमा र राष्ट्रिय रूपमा सहभागीहरूको स्टल तथा इन्कुवेसनसहितको छनोटमा परेका तीन समूहका ४० जति स्टार्टअप उद्यम एवम् प्रडक्टहरू तथा समृद्धि आइडियाहरूको व्याख्या विश्लेषण र जिज्ञासा समाधान गर्ने र सम्पर्क एवम् थप जानकारीका लागि ब्रोसर तथा कार्डहरूको वितरण समेत भएको थियो ।

आईसिटी फाउन्डेसन नामक संस्थाले नेपाली बजारमा डिजिटल विकास तथा सोको आन्तरिकीकरणमा सक्रिय भूमिका खेल्दै आएको छ । अवश्य पनि देशमै केही गर्ने हुटहुटी भएका युवाहरूलाई प्रोत्साहन र प्रवद्र्धनको खाँचो छ । यस्तो अवस्थामा युवाहरूको प्रतिभालाई सबैमाझ देखाउने र उनीहरूलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न स्टार्टअप फेस्टले महत्वपूर्ण प्लेटफर्मको काम गर्न सक्छ ।

यसपटकको स्टार्टअप एन्ड आइडिया फेस्टमा नेपाली युवाले तयार पारेका एआई, ब्लकचेन, मेसिन लर्निङ, ईभी, विभिन्न सिस्टम, सफ्टवेयर तथा हार्डवेयर सोलुसनलगायतका स्टार्टअप इनोभेसन र आईडियाहरू राखिएको थियो ।

देशैभरका नयाँ–नयाँ स्टार्टअप, आईडिया र इनोभेसन हेर्न अवलोकनकर्ताको उत्साहजनक सहभागिता थियो भन्ने विषय दुई दिनमात्र सञ्चालन भएको उक्त फेस्टमा १२ हजारभन्दा बढीले अवलोकन गरेको विवरणबाट पुष्टि हुन्छ ।

मेलामा अवलोकन गर्न पुगेका व्यक्तिहरूले देशका युवाहरूको इनोभेसनलाई चासोका साथ नियाल्नुका साथ विभिन्न जिज्ञासाहरू राखेबाट पनि यसखालको मेला समयसमयमा आयोजना हुनुपर्ने देखिन्छ । प्रतियोगितासहितको फेस्टले युवाहरूलाई देशमै केही गर्न प्रेरित गरिरहेको विश्वास गर्न सकिन्छ । देशमा पछिल्लो समयमा कस्ता–कस्ता स्टार्टअप, आईडिया र इनोभेसन छन् त्यसको प्रतिबिम्ब फेस्टमा देखिएको छ ।

स्टार्टअप एन्ड आईडिया फेस्टमा राजनीतिक उच्चपदस्थ व्यक्तिहरू, सरकारी निकायका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, विभिन्न कम्पनीका संस्थापक, सीईओ, लगानीकर्तालगायत अवलोकनका लागि पुगेको जानकारी पाइयो । आईसिटी अवार्ड २०२३ को प्रि–इभेन्ट क्याम्पियनको रूपमा भएको स्टार्टअप एन्ड आईडिया फेस्ट तथा स्टिम क्याम्पलाई लिइएको रहेछ । कार्यक्रममा सहकार्य गरेको स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रिडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरूलाई पनि प्रदर्शनीमा राखेको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा नयाँ–नयाँ आईडिया, इनोभेसन तथा प्रडक्टको प्रदर्शनी, आईडिया पिचिङ, एस्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर तथा गेम रहेका थिए । साथै यो कार्यक्रमका सिलसिलामा आइडिया पिचिङ, बुटक्याम्प, मेन्टरिङ, लगानी अवसरका लागि जानकारी लिने, डिजिटल साक्षरताका साथै पहिचान र पुरस्कारको आधारका रूपमा समेत लिइएको पाइयो । फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आईसिटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, १३ विद्यार्थीहरूका इनोभेसन र १४ प्रडक्टले समेत फेस्टमा आफ्ना आईडिया र प्रडक्टहरू प्रदर्शनी गरेका थिए ।

कार्यक्रममा अवलोकनकर्ताले आईसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १४ प्रडक्ट र १३ राइजिङ स्टार इनोभेसनमध्ये पाँच–पाँच वटालाई भोट गर्न सकिने व्यवस्थासमेत गरिएको थियो । कार्यक्रमको अन्तिम दिन सहभागी भएका सातै प्रदेशका स्टार्टअप, एक्जिबिटर, मेन्टर, आईसिटी अवार्डका उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टलाई सहभागिताका लागि सम्मानित समेत गरिएको थियो ।

मेलाभन्दा अगाडि नै दुई दिनसम्म सञ्चालन भएको बुटक्याम्पमा मार्केटिङ, ब्रान्डिङ, कम्पनी दर्ता, बजार अध्ययन, इक्विटी, कस्टुमर एक्विजेसनलगायत स्टार्टअप तथा आइडियालाई कसरी अगाडि बढाउने भन्ने विषयमा विविध कुराहरू सिकाइएको सहभागीहरूबाट जानकारी पाइयो । किंग्स कलेजसँगको सहकार्यमा आयोजना गरिएको बुटक्याम्पमा स्टार्टअप कसरी सुरु गर्ने, के–के कुरामा ध्यान दिने, बजार व्यवस्थापन कसरी गर्ने, लगानी कसरी ल्याउने, दर्ता कसरी गर्ने, आईडियालाई कसरी भ्यालिडेट गर्नेलगायत ज्ञान पाइएको सहभागीको भनाइ थियो ।

यसका साथै बुटक्याम्पमा सहभागी भएकाहरू उद्योगको भ्रमणमा समेत गएका थिए । उनीहरूलाई नेपालका उत्कृष्ट प्रविधि कम्पनीहरू क्लाउड फ्याक्ट्री, लगपोइन्ट, वेद, टेक क्राफ्ट जस्ता कम्पनीहरू भ्रमणमा पनि लगिएको रहेछ । उक्त भ्रमणबाट कम्पनी कसरी सञ्चालन हुन्छ ? के–के कुरा आवश्यक पर्छन् ? कस्ता–कस्ता चुनौतीहरू आउँछन् ? जस्ता विषयमा जानकारी दिइएको थियो । विशेष गरी स्टार्टअपलाई उद्योगसँग जोड्ने र त्यसको जानकारी दिने भ्रमणको उद्देश्य थियो ।

सातै प्रदेशका स्टार्टअपलाई प्रवद्र्धन गर्न यसपटक प्रत्येक प्रदेशका एक–एक स्टार्टअपलाई आईसिटी अवार्ड २०२३ को ग्रान्ड फिनालेमा प्रोभिसियल रिकग्निसन आईसिटी अवार्डसमेत प्रदान गरिने भएको छ ।

जसबाट प्रदेशमा स्टार्टअपलाई बढावा दिन, देशमै केही गर्न र गरे हुन्छ भन्ने विश्वास सिर्जना एवम् प्रोत्साहनसमेत मिल्ने देखिन्छ । नेपालको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आईसिटी अवार्डको आठौं संस्करणमा यसपटक विभिन्न १३ विधामा पाँच सयभन्दा बढीको नोमिनेसन प्राप्त भएकोमा उक्त पुरस्कारका लागि दोस्रो चरणको मूल्यांकनपछि छनौटमा परेका स्टार्टअप, प्रडक्ट र इनोभेसनहरू समेत यो फेस्टमा सहभागी थिए ।

आईसिटी अवार्डको ग्रान्ड फिनाले आगामी पुस ६ गते द सोल्टी होटल काठमाडौँमा आयोजना हुनुअघि स्टार्टअप एन्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डका लागि दर्जनौँ प्रि–इभेन्ट सञ्चालन हुने र कान्तिपुर टेलिभिजनले २ महिनासम्म स्टार्टअप र आइडिया पिचिङको विशेष कार्यक्रमका रूपमा टेलिभिजन सिरिजहरू पनि प्रशारण गर्ने बुझिएको छ ।

यसरी सातै प्रदेशमा गएर देशका कुनाकाप्चामा रहेका स्टार्टअप र आईडियालाई प्रोत्साहन र प्रवद्र्धन गर्ने तथा देशको राजधानीमा फेस्टको आयोजना गर्ने लिभिङ विथ आईसिटीको काम सराहनीय देखिन्छ ।

देशभित्रै युवाहरूलाई सिर्जनशील अवसर प्रदान गर्ने तथा बलियो तथा उत्थानशील स्टार्टअप पारिस्थितिक प्रणालीबाट दिगो विकासमा टेवा पु¥याउनका लागि सबै क्षेत्रबीच आपसी संवाद, साझा बुझाइ र सहकार्य आवश्यक पर्ने देखिन्छ ।

स्टार्टअपका अवसरहरू सिर्जना गर्दै इन्कुवेसन, इकमर्सको प्रवद्र्धन तथा हरित अर्थतन्त्रको प्रवद्र्धनमार्फत दिगो विकासलाई सम्भव तुल्याउनका लागि पनि लगानीको अवसर तथा उद्यमशिलता विकाससँग रोजगारी सम्भव तुल्याउन यस्ता मेला र संवादहरू सहयोगी रहन्छन् । सकारात्मक अग्रसरताका यी र यस्ता विषयहरूमा मिडिया कभरेज गरी निरन्तर सूचना प्रवाहसमेत भइरहनुपर्दछ । – रासस

प्रकाशित मितिः आइतवार, अशोज २८, २०८०     10:09:06 AM  |