17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

सार्वजनिक सुनुवाइमा कम उपस्थिति भएकोमा मेयरको चिन्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २७, २०८०  

बाँके ।

कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

कोहलपुर जेसीजको सहजीकरण र कोहलपुर नगरपालिकाको आयोजनामा शुक्रबार चालू आवको पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्यले चालू आवको पहिलो सार्वजनिक सुनुवाइ गरिएको बताए ।

‘हामी आएपछि नियमित रूपमा सार्वजनिक सुनुवाइ गर्दै आइरहेका छौं,’ उनले भने, ‘एक आवमा चारवटा सार्वजनिक सुनुवाइ गर्नुपर्नेमा यसवर्षको पहिलो सुनुवाइ गरेका हौं ।’ सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयको उपस्थिति न्यून देखिएपछि नगर प्रमुख आचार्यले असन्तुष्टि व्यक्त गरेका थिए । ‘हामी आउँदा नियमित रूपमा सार्वजनिक सुनुवाइ नभएको भन्दै गुनासो हुन्थ्यो,’ उनले भने, ‘अहिले नियमित रूपमा भइरहँदासमेत नागरिकहरूको चासो देखिँदैन । आफ्ना समस्याहरू राख्ने यो एउटा फोरम हो ।’

कार्यक्रममा नागरिकहरूले वडा तथा अन्य कार्यालयमा जाँदा सहज रूपमा सेवा नपाइने, अव्यवस्थित रूपमा भइरहेको विकास निर्माणका कामलाई व्यवस्थित गराउनुपर्नेलगायतका गुनासा गरेका थिए । उनीहरूले उठाएका प्रश्नको जवाफ नगर प्रमुख आचार्य, उपप्रमुख संगीता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल र वडाध्यक्षहरूले दिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत ढकालले चालू आवमा चारपटक सार्वजनिक सुनुवाइ गरिने जानकारी दिए । तीन÷तीन महिनामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था भएअनुसार चालू आवका लागि पहिलो सार्वजनिक सुनुवाइ गरिएको उनले बताए ।

प्रकाशित मितिः शनिबार, अशोज २७, २०८०     7:28:42 AM  |