बाँसगढी ।
बाँसगढी नगरपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुरले विद्यालयमा नयाँ नियम बनाएको छ ।
विद्यालयले प्रत्येक महिनाको मसान्तका दिन विद्यार्थीहरूले अनिवार्य रूपमा आफ्नो धर्म–संस्कृतिअनुसारको पोसाक लगाउनुपर्ने नियम बनाएको हो ।
स्थानीय पाठ्यक्रमलाई मध्यनजर गर्दै यस्तो नियम बसालिएको विद्यालयका प्र्रधानाध्यापक अर्जुनप्रसाद तिवारीले बताए । ‘विद्यार्थीहरूले आफ्नो धर्म–संस्कृति र भेषभूषा नभुलुन् भन्ने पनि हो,’ प्रधानाध्यापक तिवारीले भने, ‘यसबाट स्थानीय पाठ्यक्रम विषयको सिकाइमा प्रभावकारिता आउने विश्वास लिइएको छ ।’
नगरपालिकाले हालै नयाँ स्थानीय पाठ्यक्रम निर्माण गरेर आफ्नो पालिकाभित्रका स्कुलहरूमा व्यावहारिक प्रयोग गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अुनसार विद्यालयले विभिन्न धर्म समुदायका भेषभूषाको पहिचान गराउने उद्देश्यले यस्तो नियम बसालेको प्रअ तिवारीले बताए ।
सो नियमअन्तर्र्गत शुक्रबार विद्यार्थीहरूले आ–आफ्नो समुदाय र संस्कृतिअनुसारको पोसाक लगाएर विद्यालय आएका थिए । २७ गतेदेखि दसैँ बिदा सुरु हुने भएकाले शुक्रबार विद्यार्थीहरूलाई आ–आफ्ना धर्म–संस्कृतिअनुसारका पोसाकमा बोलाइएको विद्यालयका सहायक प्रधानाध्यापक महानन्द ढकालले बताए ।
सो अवसरमा औपचारिक कार्यक्रमको आयोजनासमेत गरिएको थियो । आ–आफ्ना धर्मसंस्कृति अनुसारका पोसाकमा सजिएका विद्यार्थीहरूले आफ्ना संस्कृतिअनुसारका नाच प्रदर्शन गरेका थिए ।
सो अवसरमा बोल्दै बाँसगढी नगरगपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलाले नगरपालिकाले लागू गरेको पाठ्यक्रमलाई पहिलोपटक व्यवहारिक रूपमा आफ्नो वडाभित्रको विद्यालयले प्रयोग गरेकोमा खुसी व्यक्त गरे ।
त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपाल खड्काले गुणस्तरीय शिक्षाका लागि विद्यालय प्रयासरत रहेको बताए । सो विद्यालयमा थारू जातिको बाहुल्यता भए पनि बाहुन क्षेत्री, मगर, गुरुङ, राजी, नेवार र मुस्लिमलगायत जाति तथा समुदायका विद्यार्थीहरू अध्ययनरत् छन् । सो विद्यालयमा बाल कक्षादेखि १२ कक्षासम्म अध्यापन हुँदै आएको छ । एक कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीमा यो नियम लागू हुने ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्