नेपालगन्जमा ३० जना नगर प्रहरी थपिए



बाँके ।

नेपालगन्ज उपमहानगरपालिकाले ३० जना नगर रक्षक भर्ना गरेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सेवा निवृत्तहरूलाई नगर रक्षकका रूपमा भर्ना गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाले टेन्डर आह्वान गरेर ठेक्का प्रक्रियामार्फत ३० जना नगर रक्षक भर्ना गरेको हो । न्यू बागेश्वरी सरसफाइ एन्ड सेक्युरिटी सर्भिसेस प्रालिका सञ्चालक भानु भट्टले भर्ना भएका नगर रक्षक अधिकांश नेपाली सेनाका सेवानिवृत्त जवान रहेको बताए ।

यो सँगै अब नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रहरी शाखामा ४१ जना जनशक्ति व्यवस्थापन भएको छ । यसअघि नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीको कमान्डमा ११ जना नगर प्रहरी कार्यरत थिए ।

नयाँ भर्ना भएका नगर रक्षकलाई नगर प्रमुख प्रशान्त विष्टले बिहीबार आफूलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिएका थिए ।

नगर प्रमुख विष्टले नगर प्रहरीलाई निर्देशन दिँदै बिहीबारदेखि लागू हुने वडा नम्बर १ देखि २० सम्मका सम्पूर्ण फुटपाथ हटाउने, तोकेको ठाउँमा मात्र ठेला गाडा लगाउन दिने, उपमहानगरपालिकाभित्र मालबाहक सवारी साधनलाई बिहान ९ बजेसम्म तथा साँझ ६ बजेपछि मात्र लोड अनलोड गर्न दिने, चोक बजारभित्रका ठेला साँझ ५ बजेपछि मात्र लगाउन पाउने र बिहान ९ बजेभित्र खाली गरिसक्नुपर्ने बताएका छन् ।

त्यसैगरी नगर प्रमुख विष्टले सडकपेटीमा राखेका घर निर्माणका सामग्री ३ दिनभित्र व्यवस्थापन गर्न लगाउने र निर्माण सामग्रीको प्रकृति हेरेर समय थपघट गर्न सक्ने (बढीमा ७ दिन), ट्रान्सपोर्ट, हार्डवेयर पसलहरूलाई बुग्गीको सम्पर्क नम्बर राख्न लगाउने र आवश्यक परेको समयमा बोलाउने तथा बाटोमा बुग्गी राख्न नदिने, त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म तथा गणेशमान चोकदेखि चारबाहिनी रोडसम्म वन–वे कायम गर्ने, गुलरिया बसपार्कमा बस व्यवस्थापन गर्नेलगायतका कार्य कडाइका साथ लागू गर्न निर्देशन दिए ।

नगर प्रहरी प्रमुख बोगटीले थप भएको जनशक्तिलाई उचित परिचालन गरेर परिणाम देखिने गरी काम गर्ने बताए । बोगटीले शुक्रबारदेखि नगर रक्षकहरू फिल्डमा खटिने जानकारी दिए । त्यसक्रममा नगर उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर ६ का अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर २० का अध्यक्ष कौशलकुमार धोबीलगायत उपस्थित थिए ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रबार