शिवु खनाल । दाङ ।
दाङ जिल्लाको भारतसँग सीमा जोडिएका क्षेत्रको अनुगमन गरिएको छ । नजिकिँदो चाडपर्वलाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो । जिल्लामा केही दिनअघि मात्रै सरुवा भई आएका दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीको नेतृत्वमा सुरक्षा अधिकारी र विषयगत कार्यालयका प्रमुखहरूको टोलीले सीमा क्षेत्रको सुरक्षाको अवस्थाको अध्ययन अनुगमन गरेको हो ।
प्रजिअ सुबेदीले सीमावर्ती क्षेत्रलाई प्राथमिकतामा राखेर नेपाल–भारत सीमामा रहेका ठूला तथा साना पिलरको अवस्था बुझ्न आकस्मिक निरीक्षण गरिएको बताए । सीमा क्षेत्रको शान्ति, सुरक्षाको अवस्था बुझ्न अनुगमन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ हेक्वा ज्वालामाई गण भालुवाङका प्रमुख गोपाल श्रेष्ठले जानकारी दिए ।
दाङ जिल्लामा भारतसँग ८५ किलोमिटर खुला सीमा जोडिएको छ । बिहीबार भारतसँगै सीमा जोडिएको राजपुर गाउँपालिका–१ पटौली नाकाको अनुगमन गरिएको हो । दुवै देशको क्षेत्रबाट हुनसक्ने चोरी तथा तस्करी नियन्त्रण गर्न र सीमा क्षेत्रको वास्तविक अवस्था थाहा पाउन अनुगमन सुरु गरिएको प्रजिअ सुबेदीले बताए ।
अनुगमनका क्रममा प्रजिअ सुबेदीले गैरकानुनी गतिविधिलाई नियन्त्रणमा लिँदै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिए । ‘सीमा क्षेत्र र सीमास्तम्भको अवस्था ठीकै रहेको छ,’ उनले भने, ‘चाडपर्वका बेला सीमा क्षेत्रमा हुन सक्ने विभिन्न प्रकारका गैरकानुनी गतिविधिलाई विशेष ध्यानमा राख्दै सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छु ।’
सुरक्षा निकायसमेतको समन्वयमा चाडपर्वलक्षित सुरक्षा कार्ययोजना बनाएर लागू गर्ने तयारी भइरहेको उनले जानकारी दिए । सीमा नाकालाई व्यवस्थित बनाउन आग्रह गर्दै नाकाबासीहरूबाट सहयोगको प्रतिबद्धता आएको उनले बताए । चाडपर्वमा हुनसक्ने कालोबजारी, ठगी, मूल्यवृद्धि एवं म्याद सकिएका सामानको किनबेच नियन्त्रणमा कुनै कसर बाँकी नराखिने उनले दाबी गरे ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख रामबहादुर केसीले प्रहरी प्रशासन र सम्बन्धितसँग संस्थालाई स्थानीय निकायसँग सहकार्य गरेर सीमामा मानव बेचबिखनलाई कडाइ गर्न आग्रह गरेको बताए ।
दाङका ३४ वटा खुला सीमा नाका रहेको सीमावर्ती क्षेत्रमा ७७ वटा सीमास्तम्भ रहेका छन् । सीमा सुरक्षामा खटिएका नेपाल सशस्त्र प्रहरीले दैनिक गस्ती गर्छन् । भारतीय सीमा सुरक्षा बलको सीमा क्षेत्रमा बाक्लो उपस्थिति रहँदै आएको छ । अहिले त्यही अनुपातमा नेपाली सुरक्षा बल स्थापना हुँदै गएको छ ।
विगतमा यहाँ भारतीयले नेपालतर्फको भूभाग मिच्नु र मिच्न खोज्नु नौलो विषय थिएन । स्थानीय सीमा नाकाबासीको प्रतिकारपछि भारतीय पक्ष पछि हट्ने गरेका थिए । भारतसँग सीमा जोडिएको दाङको सीमावर्ती क्षेत्रमा भारतीय पक्षले नेपालतर्फको भूभाग कब्जा गर्न खोजेपछि एकजुट भएका नेपालीले यसको खुलेरै प्रतिकार गर्थे । स्थानीयबासीको तीव्र विरोधपछि एसएसबी आइन्दा सीमा क्षेत्रमा यस्ता क्रियाकलाप नगर्ने भन्दै पछाडि हट्थ्यो ।
वैज्ञानिक सीमांकन नहुँदा भारतसँग सीमा जोडिएको दाङको सीमावर्ती क्षेत्रमा बर्सेनि यस्तै समस्या बल्झिरहने गरेका थिए । अनुगमनका क्रममा स्थानीयले प्रजिअलाई विगतमा आफूहरूले भोग्नुपरेका समस्या अवगत गराएका थिए । यो समस्या वर्षमा एक÷दुई पटक दोहोरिइरहने गरेको राजपुर गाउँपालिका–१ बरुवा नाका निवासी लक्ष्मण केसीको भनाइ थियो ।
‘विगतमा सीमा नाकामा स्तम्भ बन्दै गरेको जग्गा नेपालकै भए पनि एसएसबीले आफ्नो भन्दै रोक लगाउने गथ्र्यो,’ केसीले भने, ‘अहिले सीमावर्ती क्षेत्रमा नेपाल सरकारले पूर्वाधार र विकास निर्माण गरेर सशस्त्र प्रहरीको निगरानी बढाएपछि यहाँको सीमा समस्या केही कम भएको छ ।’ सीमावर्ती क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको उपस्थिति छ ।
प्रतिक्रिया दिनुहोस्