बाँके ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यलाई गृह मन्त्रालयमा तानिएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीलाई गृह मन्त्रालयमा तानेका हुन् ।
आचार्यको स्थानमा इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल आउँदै छन् । बाँकेमा आएको एक वर्ष नपुग्दै प्रजिअ आचार्यलाई गृह मन्त्रालयमा तानिएको हो । गत माघको दोस्रो साता उनले बाँके प्रशासनको कमाण्ड सम्हालेका थिए । ९ महिनामै प्रजिअ आचार्य गृह मन्त्रालयमा तानिएका हुन् ।
उनको सरुवाको स्पष्ट कारण नखुले पनि कमजोर कार्यक्षमताका कारण मन्त्रालय तानिएको बताइन्छ । पछिल्लो पटक नेपालगन्जमा उत्पन्न धार्मिक तनावका कारण रहेको अड्कल सार्वजनिक वृत्तमा गरिएको छ ।
तनावअघि सामाजिक सद्भाव भड्किने गरी सामाजिक सञ्जालमा भिडियो हाल्ने र लेख्नेलाई कानुनी दायरामा नल्याएको, ज्ञापनपत्र बुझाउन गएको समूहले जिल्ला प्रशासन कार्यालयजस्तो संवेदनशील क्षेत्र नियन्त्रणमा लिँदासमेत केही सुरक्षा दिन नसकेको समेत उनीमाथि आरोप लाग्ने गरेको छ ।
आचार्यकै कार्यकालमा बाँकेमै रहेको बालसुधार गृहमा दुई पटकसम्म तोडफोड र आगजनी गरिनुका साथै एक बन्दी बालकको ज्यानसमेत गएको थियो । अझै केही बालबन्दीहरू फरार रहेका छन् ।
यस्तै, गृहमन्त्री श्रेष्ठले बाँकेका आचार्यसहित देशभरका पाँच जना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेका छन् ।
दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमालालाई सर्लाहीको प्रमुख जिल्ला अधिकारी, सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलामको प्रमुख जिल्ला अधिकारी, इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बाँकेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
यस्तै, बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यलाई गृह मन्त्रालय तानिएको छ भने गृह मन्त्रालयमा कार्यरत सहसचिव टुवराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्