नेपालगन्ज ।
जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्वलक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । नेपालगन्ज अशान्त भएपछि एक सातासम्म जारी भएको कफ्र्यु र निषेधाज्ञा मंगलबार बिहानदेखि पूर्णरूपमा हटाइएपछि जिल्ला प्रहरीको ध्यान चाडपर्वलक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा केन्द्रित भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले चाडपर्वलक्षित गरी जिल्लाभर विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए । चाडपर्व लक्षित गरी जमुनाह नाका, नेपालगन्ज बसपार्क र कोहलपुरमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
डिएसपी डाँगीले भने, ‘जिल्लाभर शान्ति सुरक्षा कायम गर्नका लागि सादा पोसाकमा पनि प्रहरी टोली परिचालन गरिएको छ ।’ जिल्ला प्रहरी कार्यालयले माइकिङ र पर्चा पम्पलेट वितरण गरी जनचेतना फैलाउने अभियानसमेत चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्वको समयमा हुन सक्ने सम्भावित चोरी, डकैती, अपराधलगायतका घटना तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जनाएको छ ।
जिल्लाभित्र कुनै पनि स्थानमा आपराधिक गतिविधि तथा अन्य दुर्घटनालगायत भएमा तत्काल प्रहरी टोली घटनास्थल पुग्ने गरी व्यवस्थापन गरिएको छ । प्रहरीले भारतबाट फर्किने नेपालीको सुरक्षा र सहजतालाई प्राथमिकता दिइएको जनाएको छ ।