बाँके ।
कोहलपुरमा रहेका तीनवटा पसलमा म्याद गुज्रिएका, नेपालमा प्रतिबन्धित र भन्सार छलीका सामानहरू भेटिएपछि जरिवानासहित कारबाही गरिएको छ ।
कारबाहीमा पर्नेमा कोहलपुर–११ सुर्खेत रोडस्थित विशाल एण्ड विवश जनरल स्टोर, गण्डकी जनरल स्टोर्स एण्ड अर्डर सप्लायर्स र न्यू गण्डकी डिपार्टमेन्टल स्टोर रहेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय र इलाका प्रशासन कार्यालय कोहलपुरसहितको संयुक्त अनुगमन टोलीले ती पसलहरूलाई कारबाही गरेको हो ।
विशाल एण्ड विवश जनरल स्टोरमा म्याद गुज्रिएका, नेपालमा प्रतिबन्धित तथा भन्सार छलीका सामानहरू भेटिएपछि तत्काल जरिवाना गरिएकोमा स्टोर सञ्चालकले जरिवाना पत्र बुझ्न ईन्कार गरेपछि जरिवानाको सूचना टाँस गरी आवश्यक प्रक्रिया अघि बढाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका निमित्त प्रमुख विष्णुप्रसाद धितालले जानकारी दिए ।
विशेषगरी खाद्यान्न, पेय पदार्थको म्याद गुज्रिएको र भन्सार छली गरेको पाइएकोे एवं प्रतिबन्धित सुर्तीजन्य पदार्थ पनि फेला परेको उनले बताए । यसैगरी गण्डकी जनरल स्टोर्स एण्ड अर्डर सप्लायर्स र न्यू गण्डकी डिपार्टमेन्टल स्टोरमा म्याद गुज्रिएका करिब १२ हजार रुपैयाँ बराबरको सामान नष्ट गरिनुका साथै १०/१० हजार गरी २० हजार रुपैयाँ जरिवाना गरिएको धितालले जानकारी दिए ।
दसैं तिहार नजिकिएसँगै उपभोक्ताहरु नठगिउन् भनेर बजार अनुगमनलाई बढावा दिइएको उनले दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्